लङ मार्चको दबाबपछि प्रधानमन्त्री शहबाजले इमरान समर्थकलाई वार्तामा बोलाए, रिहा नगरी कुरा नगर्ने अडान

लङ मार्चको दबाबपछि प्रधानमन्त्री शहबाजले इमरान समर्थकलाई वार्तामा बोलाए, रिहा नगरी कुरा नगर्ने अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै इस्लामाबादतर्फ अघि बढिरहेका समर्थकलाई वार्ताका लागि निम्तो दिएका छन्।

तर इमरान समर्थकहरूले पूर्वप्रधानमन्त्रीको रिहाइको मागमा कुनै सम्झौता नगर्ने भन्दै वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्।

इमरान खानका समर्थकहरूको लङ मार्च पेशावरबाट करिब ३० किलोमिटर टाढा पुगेको छ। उनीहरू इस्लामाबादतर्फ अघि बढिरहेका छन्। मार्च राजधानीबाट करिब १८० किलोमिटर टाढा रहेको बताइएको छ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफरीदीको नेतृत्वमा इमरान समर्थकहरूले अक्टोबर ४ देखि इस्लामाबादतर्फ लङ मार्च सुरु गरेका हुन्।

मार्च अघि बढेपछि प्रधानमन्त्री शहबाजले मंगलबार इमरान समर्थकलाई वार्ताको निम्तो दिएका हुन्। यो प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि सोमबार मात्रै उनको सरकारले इमरान समर्थकसँग वार्ता नगर्ने बताएको थियो।

आर्थिक सुधारमा असर पर्ने चेतावनी

प्रधानमन्त्री शहबाज शरीफले लामो समयसम्म चल्ने प्रदर्शनले पाकिस्तानको आर्थिक अवस्था सुधार गर्ने सरकारको प्रयासमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

उनले सरकार पछिल्लो ढाई वर्षदेखि अर्थतन्त्र स्थिर बनाउन काम गरिरहेको दाबी गर्दै ती प्रयास रोक्ने कुनै पनि प्रयास राज्यसँग दुश्मनीसरह हुने बताएका छन्।

‘हामी यस्तो हुन दिने छैनौँ। कानुनले आफ्नो काम गर्नेछ। जनताको ज्यान र सम्पत्तिको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो र हामी जुनसुकै अवस्थामा पनि त्यसलाई सुनिश्चित गर्नेछौँ,’ शहबाजले भनेका छन्।

लङ मार्च बढे सत्ता संकटमा पर्ने

पाकिस्तानस्थित भारतीय उच्चायोगमा काम गरिसकेका अविनाश मोहनानीले इमरान समर्थकको लङ मार्च खैबरबाट पञ्जाब प्रवेश गरेपछि शहबाज सरकारमाथि दबाब थप बढ्ने बताएका छन्।

उनका अनुसार आन्दोलनले व्यापक समर्थन पाएमा सेना प्रमुख आसिम मुनीरका लागि समेत यसलाई रोक्न कठिन हुन सक्छ। इमरान खानको लोकप्रियता अझै कायम रहेको र उनको रिहाइको निर्णयमा सेना प्रमुख मुनीरको महत्वपूर्ण भूमिका रहेको उनको दाबी छ।

वरिष्ठ फेलो तथा राजनीतिक विश्लेषक सुशान्त सरीनका अनुसार आसिम मुनीरले लङ मार्चलाई माध्यम बनाएर प्रधानमन्त्री शहबाज शरीफमाथि दबाब बढाइरहेका छन्।

सरीनका अनुसार मुनीरले सुरुमा मार्चको बाटोमा खैबरमा फ्रन्टियर फोर्स तैनाथ गरेका थिए। त्यसपछि मंगलबार शहबाजलाई इमरान समर्थकलाई वार्ताका लागि बोलाउन लगाइएको उनको दाबी छ।

उनले मुनीरले शहबाजलाई कमजोर प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न खोजेको र यसबाट सरकारविरुद्ध जनआक्रोश बढ्न सक्ने बताएका छन्।

इमरान २०२३ देखि जेलमा

७३ वर्षीय इमरान खान सन् २०२३ देखि रावलपिन्डीस्थित अडियाला जेलमा छन्। उनीविरुद्ध १०० भन्दा बढी मुद्दा दर्ता भएको बताइएको छ। तीन मुद्दामा उनलाई सजाय सुनाइएको छ।

अल कादिर ट्रस्ट मुद्दामा १४ वर्ष, गोप्य दस्तावेज चुहावट मुद्दामा १० वर्ष र तोशाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएको छ। तोशाखाना मुद्दामा उनकी पत्नी बुशरा पनि जेलमा छिन्।

सेप्टेम्बरमा इमरानका बहिनीहरू अलीमा, उज्मा र नुरिनलाई समेत एहतियाती हिरासतमा लिइएको थियो।

अगस्ट १८ मा सर्वोच्च अदालतले इमरानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इस्लामाबादस्थित निजी अस्पतालमा सार्न आदेश दिएको थियो।

तर अगस्ट २० को रात उनलाई निजी अस्पतालको सट्टा पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) लगिएको थियो। स्वास्थ्य परीक्षणपछि उनलाई पुनः जेल पठाइएको थियो।

इस्लामाबाद पुग्नुअघि नै रोक्ने

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफरीदीले लङ मार्च जारी रहने घोषणा गरेका छन्। ट्यांक, डेरा इस्माइल खान, दक्षिण वजिरिस्तान, उत्तर वजिरिस्तान, बन्नु र लक्की मारवतका समर्थकहरू गान्धी चोकबाट मार्चमा सहभागी भएका छन्।

प्रधानमन्त्री शहबाज शरीफका राजनीतिक सल्लाहकार राना सनाउल्लाहले प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिइने बताएका छन्। केन्द्र सरकारले राजधानीतर्फ जाने सडकमा थप सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रदर्शन रोक्न इस्लामाबादका विभिन्न सडकमा कन्टेनर राखिएका छन्।

सरकार र पीटीआई वार्ता असफल

सरकार र पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) बीच शुक्रबार र शनिबार दुई चरणमा वार्ता भएको थियो। तर दुवै पक्षबीच सहमति हुन सकेन।

पीटीआईले इमरान खानसँग तत्काल भेट्न दिनुपर्ने र उनलाई निजी चिकित्सकले परीक्षण तथा उपचार गर्न सक्ने अस्पतालमा सार्नुपर्ने माग गरेको थियो। सरकारले भने लङ मार्च र प्रदर्शन स्थगित गर्नुपर्ने सर्त राखेको थियो।