काठमाण्डु- पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार हुँदै मन्दिर क्षेत्रमा प्रवेश गरेको विषयमा विवादमा आएका इटहरीका दम्पती प्रियंका परियार र ओसिम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोष (पीएडीटी) को जाहेरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। पक्राउपछि दुवैलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तको जिम्मा लगाइएको छ।
पशुपतिनाथ मन्दिर परिसरमा दम्पतीले खिचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। भिडियोमा मुस्लिम समुदायका अन्सारीले मुस्लिम परम्परागत टोपी लगाएको देखिन्छ।
घटनाले थप चर्चा त्यतिबेला पायो, जब सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत उक्त दम्पती पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको विषयमा प्रश्न उठाएकी थिइन्। त्यसपछि उत्पन्न सार्वजनिक बहसका बीच पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।
प्रवेश नगरेको दम्पतीको दाबी
प्रेम विवाह गरेका प्रियंका र ओसिम केही दिनअघि पशुपतिनाथ पुगेका थिए। त्यहाँ उनीहरूले भिडियोसमेत बनाएका थिए।
मंगलबार सार्वजनिक गरिएको भिडियो वक्तव्यमा दम्पतीले आफूहरू पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश नगरेको दाबी गरेका छन्।
उनीहरूका अनुसार उनीहरू मुख्य प्रवेशद्वारबाट मन्दिरतर्फ प्रवेश गरेका थिए। तर भर्याङमा पुगेपछि सुरक्षाकर्मीले रोकेर फर्किन भनेपछि आफूहरू त्यहाँबाट फर्किएको उनीहरूको भनाइ छ।
प्रियंकाले पशुपतिनाथ आफ्नो व्यक्तिगत आस्थाको केन्द्र भएको बताउँदै श्रीमान्लाई पनि मन्दिर देखाउने उद्देश्यले आफूले त्यहाँ लगेको बताएकी छन्।
यसअघि उनले सामाजिक सञ्जालमार्फत आफूले नै जिद्दी गरेर श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताएकी थिइन्।
को हुन् प्रियंका र ओसिम?
प्रियंका परियार इटहरीकी हुन्। उनले मुस्लिम समुदायका ओसिम अन्सारीसँग प्रेम विवाह गरेकी हुन्।
अन्सारी इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी इटहरी उपमहानगरपालिका–८ का स्थायी बासिन्दा रहेको बताइएको छ। यसअघि उनी इटहरीस्थित आकाश कलेक्सनका सञ्चालक रहेको पनि जनाइएको छ।
घटनापछि सामाजिक सञ्जालमा उनीहरूको विवाह, धार्मिक पहिचान र पशुपतिनाथ प्रवेशको विषयलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।
तर दम्पतीले भने आफूहरू मुख्य मन्दिरभित्र प्रवेश नगरेको र आफूहरूको उद्देश्य मन्दिर दर्शन तथा व्यक्तिगत आस्थासँग सम्बन्धित रहेको बताएका छन्। हाल उनीहरूविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया