अन्तिम गोलसँगै फेरिँदै मेस्सीको परिचय

अन्तिम गोलसँगै फेरिँदै मेस्सीको परिचय

फुटबल क्लबदेखि होटल मालिकसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लियोनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम खेललाई १२६औँ अन्तर्राष्ट्रिय गोलसँगै यादगार बनाए । आफ्नो देशले विश्व फुटबलका महान् खेलाडीलाई भावुक बिदाइ गरिरहँदा मेस्सीले गोल गरेका हुन् ।

मंगलबार ब्युनस आयर्समा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेललाई ‘अन्तिम ट्याङ्गो’ नाम दिइएको थियो । २१ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रा, दुई कोपा अमेरिका उपाधि र एक विश्वकप जितेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अन्तिम खेल खेले ।

खेलअघि मेस्सीबाट कम्तीमा एक गोलको अपेक्षा गरिएको थियो र ३९ वर्षीय मेस्सीले त्यो अपेक्षा पूरा गरे । खेलको ७१औँ मिनेटमा बायाँ खुट्टाले प्रहार गर्दै उनले पेनाल्टीलाई गोलमा परिणत गरे । त्यससँगै स्टेडियो मोनुमेन्टलमा उपस्थित खचाखच दर्शक खुसीले झुम्दै सामूहिक रूपमा ‘मेस्सी, मेस्सी’ भन्दै नारा लगाए ।

खेल सकिएपछि दर्शकलाई सम्बोधन गर्दै मेस्सीले भने, ‘म सधैँ यहाँ फर्किरहन चाहन्छु, किनकि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्नु तपाईंका लागि हुन सक्ने सबैभन्दा सुन्दर कुरा हो ।’

मैत्रीपूर्ण खेलको अन्तिम सिटी बजेसँगै मोनुमेन्टल रंगशालामाथिको आकाश ड्रोन शोले झिलिमिली बन्यो । ड्रोनमार्फत मेस्सीको करियरका महत्वपूर्ण क्षणहरू प्रस्तुत गरिएका थिए । तीमध्ये सबैभन्दा चर्चित तस्बिर थियो–२०२२ मा कतारमा विश्वकपको ट्रफी उचाल्दै गरेको मेस्सीको तस्बिर ।

मेस्सीको बिदाइका लागि मोनुमेन्टल उपयुक्त स्थल थियो । यही रंगशालामा उनले अर्जेन्टिनाका लागि आफ्नो अन्तर्राष्ट्रिय करियरकै सर्वाधिक १९ गोल गरेका छन् । यही मैदानमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जितेर फर्किएपछि उपाधि उत्सव मनाएको थियो ।

‘मेरो करियरकै सबैभन्दा खुसीका दिनमध्ये एक यहीँ बितेको थियो । विश्वकप जितेपछि पहिलो खेल खेल्न हामी फर्किएको दिन थियो त्यो । त्यस दिन मैले जे देखेँ, त्यो म कहिल्यै बिर्सने छैन । त्यो मेरो जीवनमा भएको सबैभन्दा सुन्दर घटना थियो,’ भावुक हुँदै उनले भने ।

उनका शब्दले रंगशालामा उपस्थित अनगिन्ती दर्शकका साथै वरिपरि उभिएका उनका सहकर्मी खेलाडीका आँखामा पनि आँसु ल्यायो ।

‘अब अपरिहार्य रूपमा करियरकै सबैभन्दा दुःखद दिनको सामना गर्दैछु–राष्ट्रिय टोलीलाई बिदाइ गर्ने दिन । तपाईंहरू सबैलाई बिदाइ । म तपाईंहरूलाई सम्झिरहनेछु । राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्न पाउने अवसरलाई सम्झिरहनेछु । तर अब म तपाईंहरूसँगै उभिएर यी खेलाडीहरू र उनीहरूपछि आउने सबैलाई समर्थन गर्नेछु’ उनको शब्द थियो ।

खेल सुरु हुनुअघि नै भावुक वातावरण बनेको थियो ।

एस्टाडियो मोनुमेन्टलतर्फ अघि बढिरहेको अर्जेन्टिनाको टोलीको बस सडकमा जम्मा भएका हजारौँ समर्थकको भीडबाट गुज्रिँदा मेस्सी आँसु झारिरहेको देखिएका थिए ।

मेस्सी र प्रशिक्षक लियोनल स्कालोनी दुवैका आँखाबाट थप आँसु झरे, जब अर्जेन्टिनाको राष्ट्रिय गान अन्तिमपटक मेस्सीको उपस्थितिमा बज्यो । उनका छोराहरू थियागो, माटेओ र चिरो पनि टोलीको साथमा थिए ।

आर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका हुन् मेस्सी ।

आर्जेन्टिनाका हालसम्मकै महान् खेलाडी मेस्सीको नजिक डिएगो म्याराडोनाको नाम मात्रै आउने गर्छ । स्पेनसँग विश्वकप फुटबल फाइनलमा भएको पराजयपछि आफूले दिन बाँकी थप केही नरहेको भन्दै गएको अगस्ट २१ मा मेस्सीले राष्ट्रिय टोलीबाट अवकाश लिने निर्णय लिएका थिए ।

मेस्सीको योजना

खेल जीवनबाट सन्यास लिएपछि अब मेस्सीले के गर्लान् भनेर जिज्ञासा बढेको छ । यो प्रश्न सोध्दा उनी मुस्कुराउँछन् । मेस्सीले आफ्नो अर्को खेलभन्दा पछाडिको योजना बनाएका छैनन्।

विगतमा मेस्सीले खेल निर्देशक वा अध्यक्षको सल्लाहकारजस्ता पदमा रुचि राख्थे । हालै उनलाई उनी प्रशिक्षक कि मालिक बन्ने भनेर सोधिएको थियो, मेस्सीले मालिक रोजेका थिए । एक प्रशिक्षकको जीवन र मरण प्रत्येक खेलको नतिजामा भर पर्छ, त्यसैले अत्यन्त चिन्ता लिनुपर्ने भूमिका मेस्सीले उपयुक्त ठान्ने छैनन् ।

मालिकले केही पर बसेर क्लबको दिशा तय गर्छन् । त्यसो भनिरहँदा उनी त्यस्तो मालिक बन्ने छन् जो व्यवस्थापकलाई नियुक्त गरेर आफू पर बस्ने खालका हुने छैनन् । उनी सबै कुरामा संलग्न हुन चाहने छन् ।

यसका लागि स्पेनमा प्रारम्भिक तयारी भइरहेको छ । बार्सिलोनाको एउटा कुनामा अवस्थित पाँचौँ तहको खेल प्रशिक्षण संस्था यूइ कोर्नेलालाई उनले एप्रिलमा खरिद गरेका छन् । यो किशोर खेलाडीहरूको सीप विकास गर्ने प्रारम्भिक थलो हो ।

दोस्रो डिभिजनमा रहेको सीडी एल्डेन्सेले अक्टोबर १ मा मेस्सीलाई आफ्नो नयाँ मालिक घोषणा गर्‍यो । तर उक्त निर्णयको कार्यान्वयन स्पेनी खेलकुद परिषद् सीएसडीको अनुमोदनमा भर पर्ने जनाइएको छ ।

एल्डेन्से उनको फुटबल गतिविधिको नेतृत्व गर्ने क्लब बन्ने छ तर यो सीजनमा उनको लक्ष्य भनेको क्लबलाई तल्लो श्रेणीमा झर्न नदिनु हुने जनाइएको छ । त्यही भएर नयाँ मालिक ल्याइएसँगै भियारिआलका पूर्वप्रमुख हाभी कायेखालाई ल्याइएको छ ।

मेस्सीका निकट मित्र सुआरेजले उनी बार्सिलोनामा पुनरागमन गर्ने वा म्याराडोनाको क्लब नेपोलीमा केही समय बिताउने विचार उनको मनमा आएको बताउँछन् । तर उनीनिकट कसैले पनि त्यस्तो अपेक्षा गरेका छैनन् । सबै कुरा युरोप र मायामीलाई केन्द्रमा राखेर सोचिएको छ ।

न्यूएल्स क्लब उनको नजिक हुने छ किनभने यस वर्षको ’मेस्सी कप’मा सहभागी १६ वटा अक्याडमीमध्ये उक्त क्लब पनि एक हो ।

क्लबहरूको स्वामित्व हसिल गर्नु मेस्सीको एउटा चाहना हो भने युवा फुटबल उनको अर्को चाहना हो । आफ्ना छोराको खेलमा उनको निरन्तरको उपस्थिति र मेस्सी कप त्यसको प्रमाण हुन् ।

सन् २०२५ मा आठ टोलीबाट सुरु भएको मेस्सी कपका लागि उनले आफ्नो पैसा र समय लगानी गरेका छन् ।

उनको अर्को सबैभन्दा देखिने संलग्नता भने इबिजादेखि एन्डोरासम्म रहेको छ वटा बुटिक होटेल ’एमआईएम’मा हो । मेलिआले सन् २०२५ को नेभेम्बर १ देखि भाडामा लिएर ती होटेलहरू सञ्चालन गरिरहेको छ ।

एमआईएमको नामकरण मेस्सी र मजेस्टिक होटल ग्रूपबाट लिइएको हो । यसले मेलिआ कलेक्शनबाट होटेलहरू सञ्चालन गर्दै आएको छ ।

मेस्सी क्याटालोनियामा पाँचवटा रेस्टुराँको शाखा स्थापना गर्ने लक्ष्य लिएको एल क्लब डे ला मिलानेसाका पनि साझेदार हुन् । पेयपदार्थसँग जोडिएका भाडाकुँडाको कम्पनीसँग पनि उनको बहुवर्षीय साझेदारी छ ।