वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरीसहितको वर्षाका कारण प्रभावित भएको छ।

बिहान साढे १० बजेबाट बन्द सत्र सुरु गर्ने तयारी गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको सहभागिता जुट्न नसकेपछि सत्र केही ढिला हुने भएको हो।

खाजा समयपछि साढे ११ बजेबाट बन्द सत्र सञ्चालन गर्ने तयारी भइरहेका बेला अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि खुलामञ्चमा प्रतिनिधिहरू आउन सकेका छैनन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेले मौसमका कारण बन्द सत्र प्रभावित भएको बताए। उनका अनुसार मौसममा सुधार आएपछि बाँकी छलफल टुंग्याएर प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

कांग्रेसले १५औँ महाधिवेशनको बन्द सत्र खुलामञ्चमा सञ्चालन गरिरहेको छ। महाधिवेशन प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ।

बन्द सत्रमा सबैलाई प्रवेश, प्रत्यक्ष प्रसारण पनि

कांग्रेसले बन्द सत्रमा प्रवेश पाएका सबैलाई सहभागी हुन दिने भएको छ। प्रवक्ता चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैका लागि बन्द सत्र खुला गरिएको छ।

‘यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो,’ चालिसेले बताए।

उनका अनुसार बन्द सत्र नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। अन्य सञ्चारमाध्यमले समेत बन्द सत्रको प्रत्यक्ष प्रसारण गर्न पाउनेछन्।

आजै प्रतिवेदन पारित गर्ने तयारी

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यसूची छ।

सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा र सुझाव राख्दै आएका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत छलफलमा सहभागिता जनाएका छन्।

मौसमका कारण केही ढिलाइ भए पनि बाँकी धारणा तथा सुझाव समेटेर प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ।

बन्द सत्रपछि गगनले सम्बोधन गर्ने

आजको बन्द सत्रको छलफलपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी गरिएको छ।

राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

१५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्।

कांग्रेसले नेतृत्व चयनका लागि भोलि बिहान मतदान गर्ने तयारी गरेको छ। त्यससँगै महाधिवेशनको मुख्य ध्यान अब निर्वाचन प्रक्रियातर्फ केन्द्रित हुनेछ।