लेतेदेखि कोरलासम्म रोकिएका छन् ५ सय बढी कन्टेनर

लेतेदेखि कोरलासम्म रोकिएका छन् ५ सय बढी कन्टेनर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै ५ सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् ।

भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ ।

कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौँको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए ।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो ।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए ।