फ्रान्समा दशकयताकै ठूलो विद्यार्थी आन्दोलन

फ्रान्समा दशकयताकै ठूलो विद्यार्थी आन्दोलन

आखिर किन आक्रोशित छन् विद्यार्थी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फ्रान्समा दशकौँयताकै ठूलो विद्यार्थी आन्दोलन नियन्त्रणमा लिन सरकारलाई कठिन भइरहेको छ । राजधानी पेरिसको उत्तरतर्फ रहेको एक उपनगरीय माध्यमिक विद्यालयमा शिक्षकहरूको हडतालको समर्थनमा सुरु भएको प्रदर्शन अहिले राष्ट्रिय संकटमा परिणत भएको छ ।

पछिल्ला केही सातामा सयौँ विद्यालय बन्द गर्नुपरेको छ भने ६ हजारभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये अधिकांश नाबालिग छन् र उनीहरूको यसअघि कुनै आपराधिक रेकर्ड नरहेको बताइएको छ । आन्दोलनका क्रममा विद्यार्थी, शिक्षक र प्रहरी घाइते भएका छन् ।

मंगलबार देशभर प्रदर्शन फैलिँदा विद्यार्थी, शिक्षक र ट्रेड युनियनका प्रतिनिधिसहित लाखौँ मानिस सडकमा उत्रिएका थिए ।

पेरिसमा अश्रुग्यासको धुवाँले वातावरण भरिएको थियो । प्रदर्शनकारीले फोहोर फाल्ने भाँडो, विद्यालयका डेस्क र कुर्सीमा आगजनी गरेका थिए । ढाल र लाठी बोकेका दंगा नियन्त्रण प्रहरीसँग केही प्रदर्शनकारीको झडपसमेत भएको थियो ।

के भइरहेको छ ?

पेरिसको एक उपनगरस्थित सेन्ट–एक्जुपेरी माध्यमिक विद्यालयमा सेप्टेम्बर २१ मा भएको प्रारम्भिक प्रदर्शनले खासै ध्यान आकर्षित गरेको थिएन । विद्यार्थीहरू शिक्षकसँगै जनशक्ति र स्रोतसाधनको अभावविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरूको माग पूरा गर्दै विद्यालयमा थप कर्मचारी पठाइएपछि हडताल समाप्त भयो । तर त्यतिबेलासम्म आन्दोलनको झिल्को सल्किसकेको थियो । विद्यार्थी नेता मानेस नाडेलका अनुसार त्यसपछि आन्दोलन ‘डढेलोजस्तै’ फैलियो ।

‘अहिले अभूतपूर्व संख्यामा विद्यालयहरू यसमा सहभागी भएका छन्,’ उनले भने । उनका अनुसार फ्रान्सको शिक्षा मन्त्रालय यो संकटबाट पूर्ण रूपमा दबाबमा परेको छ ।

उपनगरबाट सुरु भएको आन्दोलन अहिले अन्तर्राष्ट्रिय ध्यानको विषय बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फ्रान्समा भइरहेको घटना नियन्त्रणबाहिर गएको सामूहिक आप्रवासन भएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो विद्यालयको विषय होइन, यो इस्लामले कुनै समय महान् रहेको देशलाई कब्जा गर्न खोजेको विषय हो ।’

पेरिस र आसपासका क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध पारेका छन् । केही दिनमै उत्तरी सहर लिलदेखि दक्षिणी सहर मार्सेयसम्म देशका विभिन्न भागमा यस्तै दृश्य देखिएको छ ।

विद्यार्थीले फोहोरका भाँडोमा आगजनी गरेको, सडकमा अवरोध खडा गरेको, शिक्षक कर्मचारीमाथि आक्रमण गरेको र प्रहरीसँग झडप गरेको दृश्य सार्वजनिक भएपछि प्रहरीको प्रतिक्रियामाथि प्रश्न उठेको छ । आन्दोलनमा वामपन्थी अतिवादी समूहको संलग्नताबारे पनि बहस सुरु भएको छ ।

आन्दोलन सुरु भएयता १०० भन्दा बढी माध्यमिक विद्यालयमा क्षति पुगेको बताइएको छ ।

विद्यार्थी किन आक्रोशित छन् ?

आन्दोलनमा देखिएको हिंसा र यो जुन गतिमा फैलिएको छ, त्यसले धेरैलाई आश्चर्यमा पारेको छ । तर विद्यार्थीका असन्तुष्टि भने लामो समयदेखि कायम छन् ।

विद्यार्थीहरूले फ्रान्सको शिक्षा प्रणालीलाई अत्यधिक भीडभाडयुक्त, अपर्याप्त स्रोतसाधन भएको र जनशक्ति अभावग्रस्त भन्दै आएका छन् । उनीहरूका अनुसार यस्तो शिक्षा प्रणाली अहिले आफ्नो उद्देश्य पूरा गर्न सक्षम छैन ।

वर्षौंदेखि सामाजिक सञ्जालमा यस्ता भिडियो सार्वजनिक हुँदै आएका छन्, जसमा कक्षाकोठामा पर्याप्त डेस्क वा कुर्सी नभएको देखिन्छ । शिक्षक अनुपस्थित हुँदा उनको स्थानमा अर्को शिक्षकको व्यवस्था नहुँदा कक्षा नै रद्द हुने गरेको विद्यार्थीहरूको गुनासो छ ।

सन् २०१० मा फ्रान्समा जन्मदर बढेपछि अहिले माध्यमिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ । तर यही अवधिमा विद्यालयहरूले वास्तविक मूल्यका आधारमा बजेट कटौतीको सामना गरेका छन् ।

सन् २००८ को तुलनामा अहिले माध्यमिक विद्यालयमा शिक्षकको संख्या कम छ, जबकि विद्यार्थी संख्या २ लाख ५० हजारले बढेको छ । सार्वजनिक विद्यालयमा ७० प्रतिशत कक्षामा ३० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको बताइएको छ ।

आलोचकहरूले सरकारको प्रतिक्रिया ढिलो र विद्यार्थीका मागप्रति उदासीन रहेको आरोप लगाएका छन् । सुरुमा सरकारको धेरै ध्यान वामपन्थी पार्टी एलएफआई र आन्दोलनमा उसको उपस्थितितर्फ केन्द्रित थियो । जाँ–लुक मेलँसों नेतृत्वको उक्त पार्टीले विद्यार्थीलाई प्रदर्शन गर्ने अधिकार रहेको र आफ्नो पार्टीलाई आन्दोलनमा उपस्थित हुने अधिकारसमेत रहेको भन्दै आफ्नो सहभागिताको बचाउ गर्दै आएको छ ।

सरकारले प्रहरीलाई कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता र आन्दोलनबाट भएको आर्थिक क्षतिमा पनि जोड दिएको छ । पेरिस महानगर क्षेत्रका विद्यालयमा मात्रै करिब ७० लाख युरो (७८ लाख ४० हजार अमेरिकी डलर) बराबरको क्षति भएको अनुमान गरिएको छ ।

सन् २०२७ का लागि प्राविधिक माध्यमिक विद्यालयमा लागू गर्ने भनिएको शुल्कसम्बन्धी योजनामा सरकारले सुरुमा केही छुट दिएको थियो । तर उक्त व्यवस्था अहिले सरकारको बजेटबाट हटाइएको छ ।

विद्यार्थी नेता मानेसले भने, ‘सरकारको प्रतिक्रिया गैरजिम्मेवार छ र यसले विद्यार्थी किन आक्रोशित छन् भन्ने कुरा नै पुष्टि गर्छ । उनीहरूको कुरा कहिल्यै सुनिँदैन । सरकारले दमनमार्फत मात्रै प्रतिक्रिया दिइरहेको छ ।’

पछिल्लो समय आन्दोलनमा हिंसा बढेपछि भने सरकारले विद्यार्थी आन्दोलनलाई गम्भीर रूपमा लिन थालेको छ । गत साता हिंसा बढेपछि गृहमन्त्रीले विद्यार्थी आन्दोलन शहरी हिंसातर्फ मोडिएको बताएका थिए । एकै दिन करिब २ हजार मानिसलाई नियन्त्रणमा लिइएको थियो ।

शुक्रबार शिक्षामन्त्री एडुआर गेफ्रेले विद्यार्थी नेताहरूसँग भेट गरेका थिए । तर कुनै सहमति हुन सकेन । त्यसपछि विद्यार्थी नेताहरूले मंगलबार ठूलो संख्यामा प्रदर्शनमा सहभागी भए ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार मंगलबार देशभर करिब २ लाख ५६ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । त्यसमध्ये पेरिसमा मात्रै ५६ हजार सहभागी थिए ।

तर आन्दोलन आयोजना गर्ने माध्यमिक विद्यालयका विद्यार्थीहरूको एक प्रमुख संगठन युनियन सिन्डिकल लाइसेनका अनुसार देशभर ४ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए ।

गृह मन्त्रालयका अनुसार मंगलबारको प्रदर्शनका क्रममा ४०० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको छ । केही विद्यार्थीले बिहीबार पुनः प्रदर्शन गर्ने आह्वानसमेत गरेका छन् ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार राष्ट्रिय सभामा बोल्दै चरम हिंसा हाम्रा माध्यमिक विद्यालयको ढोकासम्म आइपुगेको र यसको स्पष्ट रूपमा निन्दा हुनपर्ने बताए ।

लेकोर्नुका अनुसार आन्दोलनका क्रममा २१५ विद्यार्थी र ८५ जना शिक्षा क्षेत्रका कर्मचारी घाइते भएका छन् । उनले यो संख्या दशकौँयताकै सबैभन्दा धेरै शिक्षा कर्मचारी घाइते भएको अवस्था भएको बताए । सरकारले प्रहरीलाई आन्दोलन दबाउन आदेश दिएको भन्ने आरोप उनले अस्वीकार गरे ।

आर्थिक संकटले सरकारलाई थप दबाब

सरकारको प्रतिक्रिया सार्वजनिक वित्तको कमजोर अवस्थाका कारण पनि प्रभावित भएको छ ।

सरकार सन् २०२७ को बजेट पारित गर्ने प्रयासमा छ, जसअन्तर्गत बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्य हासिल गर्न सरकारले खर्च कटौतीसहित कठोर आर्थिक उपाय अपनाउनुपर्ने अवस्था छ ।

गत साता फ्रान्सको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल केही समयका लागि ५ प्रतिशतभन्दा माथि पुगेको थियो, जुन सन् २००२ यताकै उच्च स्तर हो । विद्यार्थी आन्दोलनले देशको आर्थिक अवस्थाबारे थप चिन्ता बढाएको छ ।

यसैबीच, आन्दोलनले आगामी राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी र वामपन्थीबीच हुने तीव्र प्रतिस्पर्धाको सुरुवात गरिदिएको देखिएको छ । सर्वेक्षणमा मध्यमार्गी शक्तिहरू कमजोर देखिएका छन् ।

वामपन्थीका लागि विद्यार्थीहरू स्वाभाविक समर्थक वर्ग हुन् । सरकारका लागि भने उनीहरू अहिले अव्यवस्था र थप सरकारी खर्चको दबाबको स्रोत बनेका छन् ।

१९६८ को आन्दोलनको सम्झना

फ्रान्समा इतिहास हेर्दा विद्यार्थी आन्दोलन सरकारका लागि प्रायः सुखद साबित भएका छैनन् । सन् १९६८ को विद्यार्थी आन्दोलन अन्ततः फ्रान्सको इतिहासकै सबैभन्दा ठूलो हडतालमा परिणत भएको थियो । त्यसबेला आन्दोलनको एउटा चर्चित नारा थियो—यथार्थवादी बन, असम्भव माग ।

तर अहिले फेरि सडकमा उत्रिएका विद्यार्थी आफूहरूले धेरै ठूलो माग नराखेको बताउँछन् । उनीहरूका अनुसार उनीहरूको माग सामान्य र आधारभूत मात्रै छ–विद्यार्थीलाई पढ्न सक्ने वातावरण र गुणस्तरीय शिक्षा दिने शिक्षा प्रणाली ।