काठमाण्डु– सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई रिहा गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अग्रवालले दायर गर्न खोजेको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेको हो।
सर्वोच्च प्रशासनले रिट दरपिठ गरेपछि अग्रवालका तर्फबाट इजलासमा निवेदन दिइएको थियो। तर इजलासले पनि रिट दर्ता गर्न अस्वीकार गरेको हो।
यसअघि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
यसअघि बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई थुनामा पठाएको थियो। त्यसविरुद्ध सर्वोच्च पुगेका अग्रवाललाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तर त्यसपछि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका अग्रवाललाई पुनः थुनामा पठाउने आदेश भएको थियो। विशेष अदालतको आदेशपछि उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए।
व्यवसायी दीपक भट्टसँग जोडिएका बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अग्रवालविरुद्ध विचाराधीन छन्। उनका छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरण मुद्दामा कारागारमा छन्।



प्रतिक्रिया