काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट भनिएकाहरूका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार छापा मारिरहेको छ।
विभागको टोलीले चोलेन्द्रनिकट केही व्यक्तिका घरमा पुगेर सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएर छापा हानेको हो।
जबरासँग जोडिएको आर्थिक लेनदेन र विभिन्न व्यक्तिसँगको सम्पर्कबारे अनुसन्धान भइरहेका बेला विभागले छापा हानेको हो।
विभागले दीपक तिमल्सिना, नवराज थपलिया र प्रभु शमशेर राणाको घरमा पनि छापा हानेको हो । प्रभु शमशेर चोलेन्द्रका भाइ हुन्। उता बर्खास्तीमा परेका उच्च अदालतका तत्कालीन न्यायाधीश थपलिया पनि चोलेन्द्रनिकट व्यक्ति हुन्।
जबरालाई यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिनापक्राउ पुर्जी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रहरीले उनको घरमा अस्वाभाविक भेटघाट तथा विवादित व्यक्तिहरूसँगको सम्पर्कबारे सूचना पाएपछि अनुसन्धान अघि गरिएको जनाएको थियोे ।
जबरासँग सम्पर्कमा रहेका इनाम सापकोटा र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ।
उनै सापकोटामार्फत् जबराले भट्टलगायतसँग कुराकानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। विभागले अनुसन्धानको पछिल्लो उपलब्धिबारे केही भनेको छैन।



प्रतिक्रिया