नेपालगञ्ज – दसैँतिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन् । भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ ।
दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा रहेका नेपाली चाडपर्वका अवसरमा स्वदेश फर्किने गरेका छन् । पछिल्लो समय जमुनाहा नाकाबाट भारततर्फ जानेभन्दा नेपाल फर्किने यात्रुको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै ५ वर्षपछि दसैँ, तिहार मनाउन घर फर्किएका छन् । भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थापा परिवारको खर्च धान्न कठिन भएपछि ५ वर्षअघि छिमेकीसँगै रोजगारीका लागि भारत गएका थिए । लामो समय भारतमा बसेर काम गरेपछि चाडपर्वका बेला परिवारसँगै बस्ने इच्छा पूरा गर्न उनी नेपाल फर्किएका हुन् ।
नेपालमा गरेको आम्दानीले घरखर्च चलाउन धौंधौं भएपछि रोजगारीका लागि भारत गएको उनले बताए । गाउँघरमा पर्याप्त रोजगारीको अवसर नहुँदा भारतका विभिन्न ठाउँमा पुगेर काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ५ वर्षपछि स्वदेश फर्किंदा जमुनाहा नाकामा देखिएको परिवर्तनले भने उनलाई फरक अनुभूति भएको छ । भारत जाने बेलाको भन्दा अहिले सीमा नाकामा हुने जाँच प्रक्रिया व्यवस्थित र प्रणालीगत भएको उनले बताए ।
‘५ वर्षअघि भारत जाँदा सीमा नाकामा चेकजाँच गर्ने तरिका निकै अव्यवस्थितजस्तो थियो । अहिले त चेकजाँच गर्ने प्रक्रिया नै धेरै फरक रहेछ । सबै कुरा प्रणालीअनुसार व्यवस्थित रूपमा गरिँदो रहेछ,’ उनले भने ।
भारतमा रोजगारी गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएका हेमन्तजस्तै जाजरकोटको नलगाड नगरपालिका–४ की गङ्गाधरा केसी पनि चाडपर्व मनाउन बुधबार जमुनाहा नाका हुँदै घर फर्किएकी छन् । उनीसँगै १ छोरी र २ छोरा पनि नेपाल फर्किएका छन् । स–साना छोराछोरीलाई साथमा लिएर उनी झन्डै ८ वर्षअघि रोजगारीको खोजीमा भारतको कुल्लु पुगेकी थिइन् ।
भारत जानुअघि गङ्गाधरा कामको खोजीमा जाजरकोटबाट नेपालगञ्ज आएकी थिइन् । नेपालगञ्जमा केही वर्ष घर निर्माणस्थलमा गिट्टी तथा बालुवा बोक्ने काम गरिन् । तर कामअनुसार आम्दानी नहुने र पारिश्रमिकसमेत समयमा नपाउने भएपछि उनलाई परिवारको खर्च धान्न कठिन भयो । त्यसपछि करिब १० महिना ठेलामा चटपटे बेच्ने कामसमेत गरिन् । तर त्यसबाट पनि अपेक्षाअनुसार आम्दानी हुन नसकेपछि अन्तत: छोराछोरीसहित भारतको कुल्लु पुगेर काम गर्न थालेकी हुन् ।
‘नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ । गिट्टीबालुवा बोक्ने काम गरेँ, ठेलामा चटपटेसमेत बेचेँ । तर दु:ख धेरै र आम्दानी कम भयो । काम गरेको पैसा पनि समयमा नपाउँदा घरखर्च धान्न गाह्रो भयो,’ उनले भनिन् ।
भारतमा समेत लामो समय संघर्ष गरेर छोराछोरी हुर्काउँदै आएकी गङ्गाधरा यसपटक दसैँ मनाउन घर फर्किन पाउँदा खुसी छिन् । चाडपर्वका बेला आफ्ना छोराछोरीलाई आफन्त तथा गाउँघरको वातावरणमा राखेर दसैँ मनाउन पाउनु महत्वपूर्ण भएको उनको भनाइ छ । भारतबाट नेपाल फर्किंदै गर्दा जमुनाहा नाकामा भएको चेकजाँचले पनि उहाँलाई सहज महसूस गराएको छ । विगतको तुलनामा सीमा नाकाको व्यवस्थापन र जाँच प्रक्रियामा सुधार आएको उनले बताइन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ जमुनीका गोपाल थापा पनि नजिकिँदै गरेको दसैँतिहार मनाउन भारतको हिमाचल प्रदेशबाट घर फर्किएका छन् । विगत १८ वर्षदेखि भारतमा काम गर्दै आएका थापा चाडपर्वका बेला नेपाल आउने गर्छन् । लामो समयदेखि भारतमा रोजगारी गर्दै आए पनि दसैँतिहार भने परिवारसँगै मनाउने गरेको उनले बताए । रोजगारीका कारण वर्षभरि घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले चाडपर्वलाई परिवारसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरेको उनको भनाइ छ ।
यसपटक भने जमुनाहा नाकामा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सञ्चालन गरिएको यात्रु सहायता कक्षले आफूहरूको यात्रा थप सहज बनाएको उनले बताए । ‘यसपटक सीमा नाकामा यात्रु सहायता कक्ष राखिएको रहेछ । कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो । यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो लागेको छ,’ उनले भने ।
चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । भारतबाट आउने नेपालीलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । अहिले जमुनाहा नाकाबाट दैनिक ५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन् ।
‘बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ । प्रत्येक दिन ५ हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्,’ उनले भने ।
उनका अनुसार भारतको नयाँदिल्ली, मुम्बई, हिमाचल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली अहिले दसैँतिहार मनाउन स्वदेश फर्किरहेका छन् । चाडपर्व नजिकिँदै जाँदा नेपाल फर्किने नेपालीको संख्या अझ बढ्ने उनको भनाइ छ । भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाबाट हुने गरेको छ ।
भारतबाट ठूलो संख्यामा नेपाली फर्किन थालेसँगै जमुनाहा तथा रुपैडिया क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ । भारतबाट फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा ठगी, लुटपाट तथा अलपत्र पर्ने समस्या हुन नदिन नेपाल प्रहरीले निगरानी र समन्वय बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए । विशेषगरी रिक्सा चालक, ई–रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी भइरहेको उनले जानकारी दिए ।
भारतको रुपैडियामा रातिको समयमा आइपुग्ने नेपालीलाई असहजता नहोस् भनेर भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जमुनाहा प्रहरीले जनाएको छ । रातिको समयमा सीमा क्षेत्रमा आइपुग्ने यात्रु सुरक्षित रूपमा नेपाल प्रवेश गर्न सकून् भन्ने उद्देश्यले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरिएको उनले बताए ।
चाडपर्वमा भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमादेखि गन्तव्यसम्म यात्रुको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले विशेष योजना लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै सीमा क्षेत्रमा प्रहरीको उपस्थितिसमेत बढाइएको छ । यात्रुको भीड व्यवस्थापन, सूचना प्रवाह तथा समस्या परेका यात्रुलाई तत्काल सहयोग गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तामाङले चाडपर्वको समयमा सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ,’ उनले भने । भारतबाट फर्किने नेपालीको ठूलो संख्यालाई ध्यानमा राखेर सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ ।
यसैबिच भारतको सिम्लाबाट सुर्खेतको रामघाट फर्किएका रमेश विकले गत वर्ष दसैँका बेला भएको जेनजी आन्दोलनका कारण घर फर्किन नसकेको बताए । यसपटक भने आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा भएकाले समयमै घर फर्किएको उनले बताए ।
‘गत वर्षको परिस्थितिका कारण दसैँमा घर आउन सकिएन । यसपटक भने समयमै घर फर्किएर आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा छ,’ उनले भने ।
दैलेखका महेश थापाले पनि दसैँ, तिहारजस्ता चाडपर्व आफ्नै गाउँठाउँमा परिवार तथा आफन्तसँग मनाउँदा छुट्टै आनन्द हुने भएकाले भारतबाट घर फर्किएको बताए । भारतमा रोजगारी गरेर परिवारको खर्च धान्ने अधिकांश नेपालीका लागि चाडपर्व घर फर्किने प्रमुख अवसर बनेको छ ।
वर्षभरि परदेशमा काम गरेर कमाएको आम्दानीले परिवारको खर्च धान्ने उनीहरू दसैँतिहारमा भने परिवारसँगै बसेर सुखदु:ख साट्न चाहन्छन् । जमुनाहा नाकामा भेटिएका यात्रुहरूका अनुहारमा लामो समयपछि घर फर्किन पाएको खुसी देखिन्थ्यो । कसैका हातमा झोला र कपडाका पोका थिए भने कसैले बालबालिका तथा परिवारका सदस्यलाई साथमा लिएर सीमा पार गरिरहेका थिए ।
चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको संख्या बढेसँगै जमुनाहा नाकामा यात्रुको चापसमेत बढेको छ । भारतबाट फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, प्रशासन तथा अन्य सरोकारवाला निकायले समन्वय गरिरहेका छन् । भारतमा रोजगारीका लागि गएका नेपालीका लागि दसैँतिहार केवल चाडपर्व मात्र होइन, वर्षौँदेखि टाढा रहेका परिवारका सदस्यसँग भेट हुने अवसर पनि हो ।
हेमन्त थापाजस्ता ५ वर्षपछि घर फर्किएका हुन् वा गङ्गाधरा केसीजस्ता छोराछोरीको भविष्यका लागि वर्षौँ परदेशमा संघर्ष गरेका हुन्, सबैका लागि दसैँले घर र परिवारको सम्झना बोकेर ल्याएको छ ।
दसैँतिहार नजिकिँदै गर्दा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको गन्तव्य एउटै छ । आफ्नो घर, आफ्ना मान्छे र परिवारसँग बसेर चाडपर्व मनाउने चाहना । सीमा नाकामा यात्रुको चाप बढ्दै गए पनि प्रहरीले सीमावर्ती क्षेत्रदेखि नेपाल प्रवेश गरेपछि गन्तव्यसम्म पुग्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर निगरानी र समन्वयलाई निरन्तरता दिएको जनाएको छ । (रासस)



प्रतिक्रिया