काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रतिवेदन पारित गरेको छ।
शर्माले पेश गरेको प्रतिवेदनमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएका छन्।
प्रतिवेदन पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे।
‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ। यो पनि ऐतिहासिक हो,’ उनले भने।
शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए। उनका अनुसार कांग्रेस जनताको कुरा सुन्ने, पराजयमा पनि संयमित रहने र विजयमा पनि विनम्र रहने पार्टीका रूपमा विकास हुनुपर्छ।
‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने।
उनले कांग्रेसलाई गुनासो गर्नेभन्दा जनताले आशा, विश्वास र भरोसा गर्न सक्ने पार्टीका रूपमा अघि बढाउनुपर्ने बताए।
‘उत्तर भएको कांग्रेस, भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो। अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,’ उनले भने।
महाधिवेशनबाट कुन नेताले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल प्राथमिकता लोकतान्त्रिक मूल्य र संस्कृतिलाई बलियो बनाउनु रहेको बताए।
‘कसले के पद जित्छ, लान्छ भनेर नलाग्नुस्,’ उनले भने, ‘लोकतान्त्रिक संस्कृतिको क्षयलाई हामीले उठाउने छौँ।’
उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै पार्टीलाई जनताका कुरा सुन्ने, जनताले विश्वास गर्ने र भरोसा गर्न सक्ने राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया