गगनको घोषणा, ‘कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन’

गगनको घोषणा, ‘कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि अस्तित्वमा रहेका गुट तथा समूहहरू समाप्त भएको घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।

महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गर्दै थापाले अब पार्टीभित्रको विभाजनभन्दा एकतालाई प्राथमिकता दिने बताए।

उनले कांग्रेसको आन्तरिक व्यवस्थापनमै सीमित हुनेभन्दा पार्टीलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने आफ्नो प्राथमिकता रहेको बताए।

आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको गुट व्यवस्थापनमा नभई कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयमा बहस गर्न खर्चिने उनको भनाइ थियो।

थापाले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने बताए। उनले नयाँ नेतृत्वसँगै कांग्रेसलाई संगठनात्मक रूपमा सक्रिय बनाउँदै जनतामाझ लैजाने संकेत गरे।

थापाको ‘गुट सकियो’ भन्ने घोषणालाई कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीभित्र लामो समयदेखि कायम समूहगत राजनीतिको अन्त्य गर्दै नयाँ ढंगले अघि बढ्ने सन्देशका रूपमा प्रस्तुत गरिएको छ।