प्रधानसेनापति सिग्देलको बेलायत भ्रमणमा उच्च सैनिक अधिकारीसँग भेटवार्ता

प्रधानसेनापति सिग्देलको बेलायत भ्रमणमा उच्च सैनिक अधिकारीसँग भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायतको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले बेलायती रक्षा मन्त्रालयअन्तर्गतका उच्च अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

सिग्देलले डेपुटी चिफ अफ डिफेन्स स्टाफ फर मिलिटरी, स्ट्राटेजी एन्ड अपरेसन तथा मिनिस्टर फर भेटेरान्स एन्ड पिपुलका संसदीय उपमन्त्रीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटका क्रममा नेपाल र बेलायतबिचको सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ताजा सार्वजनिक विवरणअनुसार बेलायती पक्षसँग सैनिक शिक्षा, व्यावसायिक विकास, तालिम तथा विज्ञता आदानप्रदान लगायतका विषयमा समेत छलफल भएको छ ।

यसै क्रममा प्रधानसेनापति सिग्देलले लन्डनस्थित गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी गोर्खा सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बेलायतमा रहेको गोर्खा स्मारकमा उनले गोर्खा सैनिकको योगदान, वीरता र बलिदानप्रति सम्मान व्यक्त गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले बुधबार बेलायती सेनाको मुख्यालय भ्रमण गरी चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरसँग शिष्टाचार भेटसमेत गरेका छन् । भेटवार्ताका क्रममा नेपाल र बेलायतबिचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल साताव्यापी औपचारिक भ्रमणका लागि असोज १९ गते बेलायत पुगेका हुन् । नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र बेलायतबिच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ गर्न तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र सम्बन्धलाई समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।