दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

दुबईमा मिशेलिन गाइड २०२६ : विश्वस्तरीय मञ्चमा नेपाली सेफ दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई – विश्वप्रसिद्ध मिशेलिन गाइडको दुबई संस्करण २०२६ को समारोहमा नेपाली सेफ डिल्लीकुमार दाहाल सहभागी भएका छन् ।

दुबईमा आयोजित समारोहमा विश्वभरका प्रतिष्ठित रेस्टुरेन्ट, सेफ तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।

बुल्गारी रिसोर्ट दुबईका नेपाली सेफ दाहालले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला समारोहमा सहभागिता जनाएका हुन् । विश्वस्तरीय मञ्चमा नेपाली सेफको सहभागिताले नेपाली पाककला तथा आतिथ्य क्षेत्रमा कार्यरत नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय उपस्थितिसमेत देखाएको छ ।

समारोहमा जापानी रेस्टुरेन्ट होसेकीले जापानी परम्परा, संस्कृति र पाककलामा आधारित विभिन्न परिकार प्रस्तुत गरेको थियो । सेफ दाहालका अनुसार कार्यक्रममा ब्लुफिन टुना कलर शाबु–शाबु, टेन्डर ब्रेज्ड अक्टोपस, हेयरी र्क्याब र स्वीट तामागोयाकी लगायतका परिकार प्रस्तुत गरिएको थियो ।

दाहालका अनुसार होसेकी जापानी परम्परा र संस्कृतिमा आधारित प्रतिष्ठित परम्परागत जापानी सुसी रेस्टुरेन्ट हो । दुबईस्थित बुल्गारी रिसोर्टमा रहेको होसेकीलाई मिशेलिन गाइडले २०२६ को संस्करणमा एक मिशेलिन ताराले सम्मानित रेस्टुरेन्टका रूपमा सूचीबद्ध गरेको छ ।

समारोहमा सहभागी हुँदाको अनुभव सुनाउँदै दाहालले मिशेलिन गाइडको अन्तर्राष्ट्रिय स्तरको समारोह प्रत्यक्ष अनुभव गर्ने अवसर विशेष रहेको बताए । आकर्षक प्रस्तुति, उत्कृष्ट आतिथ्य र विश्वस्तरीय खानाको विविधताले कार्यक्रमलाई थप स्मरणीय बनाएको उनको भनाइ छ ।

उनका अनुसार मिशेलिन गाइड समारोह पाककला, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा उत्कृष्टता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय पहिचानको उत्सवका रूपमा स्थापित भएको छ ।

मिशेलिन गाइडको दुबई संस्करण २०२६ मा ३८ प्रकारका खानाका परिकार समेटिएका १२२ रेस्टुरेन्ट समावेश छन् । यस संस्करणमा ३ मिशेलिन तारा सहितका २/२ तारा सहितका ४ र १ तारा सहितका १४ रेस्टुरेन्ट सूचीमा छन् ।

विश्वस्तरीय पाककला मञ्चमा नेपाली सेफ दाहालको सहभागिताले नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय पाककला तथा आतिथ्य क्षेत्रमा बनाउँदै गएको पहिचानलाई समेत उजागर गरेको छ ।