ट्रम्पको जिकिर- मलाई नोबेल शान्ति पुरस्कार नदिए समिति नै बदनाम हुन्छ

ट्रम्पको जिकिर- मलाई नोबेल शान्ति पुरस्कार नदिए समिति नै बदनाम हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिए नोबेल समितिकै बदनामी हुने जिकिर गरेका छन्।

यही शुक्रबार पुरस्कार घोषणा हुनुअघि बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले आठवटा युद्ध रोक्न भूमिका खेलेको र विश्वलाई ठूलो विनाशबाट जोगाएको दाबी गरे।

‘म आफ्नो प्रशंसा गरिरहेको छैन, केवल तथ्यहरू बताइरहेको छु। मैले आठवटा युद्ध रोकेको छु। विश्वलाई तहसनहस हुनबाट जोगाएको छु। सायद कुनै पनि राष्ट्रपतिले यति धेरै युद्ध समाधान गरेका छैनन्,’ उनले भने।

ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने दाबी गर्दै त्यो नदिए त्यसको असर नोबेल समितिको प्रतिष्ठामै पर्ने बताए।

ओबामाबारे प्रश्न

ट्रम्पले सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामालाई दिइएको नोबेल शान्ति पुरस्कारको पनि प्रसंग निकाले।

‘ओबामाले आठ महिनामै पाए, जबकि उनले केही पनि गरेका थिएनन्। ओबामालाई पनि आजसम्म आफूले त्यो पुरस्कार किन पाएको हो भन्ने थाहा छैन,’ ट्रम्पले भने।

नोबेल समितिले भने ओबामालाई अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रहरूबीच सहकार्य बलियो बनाउने प्रयास तथा आणविक हतियारमुक्त विश्व निर्माणको प्रयासका लागि पुरस्कार दिएको थियो।

ओबामालाई राष्ट्रपतिको कार्यकाल सुरु गरेको केही महिनामै पुरस्कार दिइएको विषय त्यतिबेला पनि विवाद र बहसको विषय बनेको थियो।

२०१८ देखि नै दाबी

ट्रम्पले नोबेल शान्ति पुरस्कारको दाबी गरेको यो पहिलोपटक होइन। उनले सन् २०१८ देखि नै विभिन्न अवसरमा पुरस्कारको चर्चा गर्दै आएका छन्।

सन् २०१८ मा उनले कोरियाली प्रायद्वीप र सिरियामा शान्ति स्थापनाका लागि आफूले गरिरहेको प्रयासको चर्चा गर्दै आफूले नोबेल पुरस्कार नपाउने सम्भावना रहेको बताएका थिए।

२०१९ मा उनले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि प्रस्तावित गरेको दाबी गरेका थिए। त्यसै वर्ष उनले पुरस्कार निष्पक्ष रूपमा दिइए आफूले विभिन्न कामका लागि नोबेल पाउन सक्ने बताएका थिए।

सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा पनि उनले ओबामासँग आफ्नो तुलना गर्दै ओबामाले पाउन सक्ने भए आफूले पनि नोबेल पुरस्कार पाउनुपर्ने धारणा राखेका थिए।

मचाडोले दिएको नोबेल पदकले पनि चर्चा पायो

ट्रम्पको नोबेल दाबी सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग पनि जोडिएको छ।

लोकतान्त्रिक अधिकारका लागि गरेको कामका लागि नोबेल शान्ति पुरस्कार पाएकी मचाडोले ह्वाइट हाउसमा ट्रम्पसँग भेटका क्रममा आफ्नो नोबेल पदक उनलाई उपहार दिएकी थिइन्।

तर उक्त पदक हस्तान्तरण हुँदैमा पुरस्कार ट्रम्पको नाममा सरेको भने होइन। नोबेल समितिका अनुसार पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण, साझेदारी वा फिर्ता गर्न सकिँदैन।

को-को चर्चामा छन्?

सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पसँगै पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी), अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजलगायत चर्चामा छन्।

तर यीमध्ये कोही पनि नोबेल समितिले सार्वजनिक रूपमा घोषणा गरेका आधिकारिक अन्तिम उम्मेदवार होइनन्। नोबेल समितिले मनोनयनसम्बन्धी विवरण ५० वर्षसम्म सार्वजनिक गर्दैन।