काठमाण्डु – भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम बुधबार प्रस्ताव गरेको छ ।प्रधामनन्त्री वालेन्द्र शाहको मंसिरमा तय भएको भारत भ्रमणलाई मध्यनजर गर्दै भारतले नयाँ राजदूत नियुक्त गर्न लागेको हो ।
हालका राजदूत नवीन श्रीवास्तवको चार वर्षे कार्यकाल समाप्त भएपछि दलेलाको नाम प्रस्ताव गरिएको हो । कूटनीतिक अभ्यासअनुसार राजदूत नियुक्त हुनुअघि सम्बन्धित देशबाट एग्रिमो अर्थात् औपचारिक सहमति प्राप्त गर्नुपर्छ । त्यसैले नेपालले एग्रिमो दिएपछि मात्रै दलेलाले राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने छन् ।
भारतीय विदेश मन्त्रालयले दलेलाको नाम स्वीकृतिका लागि मंगलबार परराष्ट्र मन्त्रालयमा लिखित अनुरोध रुपमा पठाइसकेको छ।
उनी प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै कार्यभार सम्हाल्न काठमाण्डु आइपुग्ने छन् । प्रधानमन्त्री शाहले आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म तीन दिन भारतको औपचारिक भ्रमणमा जाने तयारी छ ।
त्यसैले प्रधानमन्त्रीको भ्रमण अघि नै नेपालमा नयाँ राजदूतले कार्य सम्हाल्ने गरी उनको नियुक्ति प्रक्रिया फास्ट ट्रयाकमार्फत् गरिँदैछ । यता गृहमन्त्री सुधन गुरुङ पनि असोज २६ गते भारत यात्रामा जाँदैछन्।
निवर्तमान राजदूत श्रीवास्तवले सन् २०२२ जुन २५ मा नेपालका लागि जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकाल सकिएपछि भारतीय दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ राकेश पाण्डेले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
श्रीवास्तवको पदावधि १ अक्टोबरदेखि समाप्त भएसँगै उनी सेवाबाट अवकाश पाएर दिल्ली फर्किसकेका छन् । स्रोत अनुसार राजदूत नियुक्तिका लागि भारतले नेपाललाई एग्रिमाका लागि पत्र पठाइसकेको छ ।
भारतले नेपालमा नयाँ राजदूतका रूपमा विदेश मन्त्रालयका वरिष्ठ अधिकारी मुनु महावर तथा राजनीतिक पृष्ठभूमिका रविशंकर प्रसादलाई पठाउने चर्चा चलेको थियो तर भारतीय विदेश मन्त्रालयले दलिलाको नाम अन्तिममा अनुमोदन गरेको छ ।
दलेला नेपाल आउने मितिबारे दुवै सरकारले सार्वजनिक रूपमा केही बताएको छैन । नेपालबाट एग्रिमो प्राप्त भएर काठमाण्डुमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि मात्रै उनको राजदूत नियुक्ति औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
दलेला विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने अनुभवी कूटनीतिज्ञ हुन् । भारतले लामो समयदेखि नेपालमा अतिरिक्त सचिवस्तरका वरिष्ठ कूटनीतिक अधिकारी पठाउँदै आएकोमा यसपटक सचिव स्तरका अनुभवी कूटनीतिज्ञ पठाउन लागेको छ ।
को हुन् दलेला ?
नेपाल आउन लागेका प्रस्तावित राजदत दलेला भारतीय विदेश सेवाका कूटनीतिज्ञ हुन् । उनी सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् । उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका छन् ।
सन् १९९३ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) का अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्धका सचिवका रूपमा कार्यरत छन् । उनी उहाँ ब्रिक्सका लागि भारतका प्रतिनिधि पनि हुन् ।
दलेलासँग छिमेकी मुलुकसँग सम्बन्धित विषयमा लामो अनुभव छ । सन् २०२२ देखि २०२५ सम्म उनी भुटानका लागि भारतका राजदूत थिए
उनले सन् २००६ देखि २००७ सम्म विदेश मन्त्रालयमा निर्देशक (उत्तर) र त्यसपछि सन् २०१६ देखि २०१९ सम्म संयुक्त सचिव (उत्तर) का रूपमा जिम्मेवारी सम्हालेका हुन् । उक्त भूमिकामा उनले भुटान र नेपालसँग भारतको सम्बन्ध हेर्दै आएका थिए ।
उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका हुन् । त्यसयता उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
भारतीय विदेश सेवामा काम सुरु गर्दा उनले भुटान डेस्क निर्देशकका रूपमा समेत काम गरेका छन् । सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दा उनले दक्षिण एसियाली छिमेकी मुलुक, पूर्वी एसिया तथा हिन्द–प्रशान्त क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्ध तथा सहकार्यमा काम गरेका छन् ।
सन् २०२५ सेप्टेम्बरदेखि आर्थिक सम्बन्ध सचिवका रूपमा उनी भारतको आर्थिक कूटनीति, विकास साझेदारी तथा बहुपक्षीय आर्थिक सम्बन्धसम्बन्धी विषय हेर्दै आएका हुन् ।
भारतले यसै वर्ष फेब्रुअरीमा नयाँ दिल्लीमा आयोजना गरेको पहिलो प्रतिनिधि बैठकको अध्यक्षता पनि उनले नै गरेका थिए ।
व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि उहाँसँग लामो अनुभव छ । नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) का रूपमा काम गरेका दलेला विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का लागि भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका छन् । सन् २०१४ देखि २०१६ सम्म उनी भारतका उप–स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत थिए ।
दलेलाले अमेरिकामा पनि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । सिकागोमा भारतका महावाणिज्यदूतका रूपमा उनी कार्यरत थिए । त्यस्तै, सन् २०११ देखि २०१४ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म उप–प्रमुख नियोगका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
सन् २०२५ सेप्टेम्बर १ देखि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा पनि उनी थिए । वर्तमानमा उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषयमा केन्द्रित रहि काम गर्दै आएका छन् । उनी ब्रिक्स, इब्सा, र आईटूयूटूका लागि भारतका प्रतिनिधि पनि हुन् ।



प्रतिक्रिया