काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
यस बैठकमा ११ वर्षपछि पहिलो पटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताका रुपमा सहभागी हुँदैछिन्।
गत असोज ५-८ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई वरिष्ठ नेताका रुपमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। उनैले २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता रोकिदिएका थिए ।
अब सदस्यता नवीकरण भएर वरिष्ठ नेताका रुपमा भण्डारीले पार्टीमा इन्ट्री गरेकी छन्। यसरी पहिलो पटक भण्डारीले च्यासलमा प्रवेश गर्दै गर्दा बिहीबार एउटा अनौठो दृश्य देखियो।
बैठकमा सहभागी हुन अध्यक्ष ओली गुन्डुबाट च्यासल प्रवेश गर्दा अन्य कोही पनि नेता स्वागतमा देखिएनन्।
ओलीलाई स्वागतका लागि च्यासलमा पार्टी कार्यालय सचिव भीष्म अधिकारी मात्रै देखिए । जबकि अधिकांश पदाधिकारीसहितका नेताहरू च्यासलकै क्यान्टिनमा थिए । यसअघि ओली आउँदा तिनै नेताहरू दायाँबायाँ र अघिपछि स्वागतमा लामबद्ध हुने गरेका थिए ।
दिउँसो १२ बजेर ५९ मिनेटमा ओली प्रवेश गर्दा च्यासलको क्यान्टिनमा महासचिव शंकर पोखरेलसहितका नेताहरू बसिरहेका थिए । च्यासलको क्यान्टिनमा महासचिव पोखरेल, विष्णु पौडेल, सचिव डा. राजन भट्टराई र नेता विष्णु रिमालसहित थिए । तर उनीहरू कोही पनि ओलीको स्वागतमा गेटसम्म पुगेनन्।
ओली एक्लै कार्यालयतिर छिरे उनलाई स्वागतका लागि कार्यालय सचिव अधिकारी मात्रै पुगे। उनीभन्दा केही पछि उनलाई पछिल्लो समय सघाइरहेका उपाध्यक्ष रामबहादुर थापा बादल पुगे। पूर्वराष्ट्रपति भण्डारी भने अझै पुगिसकेकी छैनन्।



प्रतिक्रिया