चाडपर्व सुरक्षाका लागि देशभर २८ हजार सशस्त्र प्रहरी परिचालन, सीमानामा कडा निगरानी

चाडपर्व सुरक्षाका लागि देशभर २८ हजार सशस्त्र प्रहरी परिचालन, सीमानामा कडा निगरानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

असोज २२ गतेदेखि लागू योजनाअन्तर्गत सीमा सुरक्षा, नागरिक तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, विपद् व्यवस्थापन र आपत्कालीन उद्धारलाई प्राथमिकता दिइएको छ।

योजनाअनुसार २८ हजार १ सय २६ सशस्त्र प्रहरी परिचालन गरिएको छ भने थप ४ हजार ५ सय जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले जानकारी दिए ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै नागरिक तथा पर्यटकको सहज आवागमनका लागि १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रमा समकक्षी सुरक्षा निकायसँग समन्वय गरी संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

काँकडभिट्टा, वीरगञ्ज, बेलहिया र जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचानका लागि तालिमप्राप्त टोली परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रणका लागि ३७ स्थानमा एम्बुलेन्ससहित आकस्मिक उद्धार टोली खटाइएको छ। ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने गरी सातै प्रदेश र काठमाण्डु उपत्यकाका १६ स्थानमा मास क्याजुअल्टी भेइकल तैनाथ गरिएको छ।

त्यस्तै देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस र १६ वटा स्थायी विपद् बेसमा दक्ष जनशक्ति तथा आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।

सुरक्षा योजनाअन्तर्गत दैनिक ४१५ स्थानमा पिकेट, ४१८ चेक प्वाइन्ट, ६०१ पैदल गस्ती, ५५५ मोबाइल गस्ती, १८२ लामो दूरीका गस्ती र १४ क्यु.आर.टी. परिचालन हुनेछन्। साथै १४ वटा बम डिस्पोजल टोली, ३७ एम्बुलेन्स, २५१ विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सैँ घण्टा तैनाथ रहनेछन्।

सीमा सुरक्षातर्फ दैनिक ५०४ सीमा नाका पिकेट, ४२ सीमा लिंक पेट्रोल र ६ बोर्डर इन्टर्‍याक्सन टिम परिचालन गरिनेछ। चाडपर्व अवधिभर आवश्यकताअनुसार समकक्षी सुरक्षा निकायसँग ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना रहेको छ।

प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिँदै संवेदनशील स्थानमा २१ वटा ड्रोन परिचालन गरिनेछ भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ सीसीटिभी क्यामेराबाट २४सैँ घण्टा निगरानी गरिनेछ।

सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन टोली खटाइने सशस्त्र प्रहरीले जनाएको छ। विपद् वा आपत्कालीन अवस्थामा नागरिकले सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।