साउदीको २ वटा विमानस्थलमा हुथी आक्रमण, ३ जनाको मृत्यु

साउदीको २ वटा विमानस्थलमा हुथी आक्रमण, ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

आभामा एक इजिप्टेली र एक अल्जेरियाली तथा रियादमा एक सुडानी नागरिकको मृत्यु भएको हो ।

घटनापछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही तीव्र बनाएको छ ।

साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मङ्गलबार र बुधबार आभा अन्तर्राष्ट्रिय विमानस्थल तथा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको थियो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादको विमानस्थललाई ‘सटीक’ आक्रमणबाट लक्षित गरिएको र हवाई यातायात प्रभावित भएको दाबी गर्नुभयो । हुथीहरूले आभा विमानस्थल र खामिस मुशैतस्थित किङ खालिद एयर बेसमा पनि ड्रोन तथा मिसाइल प्रहार गरेको दाबी गरेका छन् ।

साउदी नेतृत्वको गठबन्धनले हुथीको आक्रमणको जवाफमा मिसाइल प्रक्षेपण सुविधा, कमान्ड सेन्टर, सञ्चार प्रणाली र भेला हुने स्थानसहित ८२ वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

गठबन्धनले आक्रमणमा प्रयोग भएको ब्यालेस्टिक मिसाइल प्रक्षेपण मञ्च नष्ट गरेको पनि बताएको छ ।

हुथीहरूले रियादको विमानस्थलमा अर्को आक्रमण गरेको दाबी गर्दै साउदी हवाई क्षेत्र प्रयोग नगर्न विमान कम्पनीहरूलाई चेतावनी दिएका छन् ।

एडनस्थित विमानस्थल नजिकै सैन्य आपूर्ति काफिलामाथि पनि आक्रमण गरेको उनीहरूको दाबी छ । मिसाइल खसेपछि कायरोबाट आउँदै गरेको एउटा विमान साउदी अरेबियाको जेद्दा मोडिएको सरकारी सबा समाचार एजेन्सीले जनाएको छ ।

यसैबीच, यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ ।