एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, मंसिर पहिलो साता राष्ट्रिय भेला

एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, मंसिर पहिलो साता राष्ट्रिय भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले स्थानीय तहका कमिटीको अधिवेशनको मिति तय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

बैठकको सुरुवातमा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।

बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।

वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि भएको छ।

यसैगरी, मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।

नाजमा समानुपातिक बन्दसूचीको क्रम संख्या ४० तथा मापदण्डअनुसार क्रम संख्या ४२ मा रहेकी उम्मेदवार हुन्।

अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा भने जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय भएको छ। एमाले स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्ने भएको छ।