साहित्यको नोबेल ऐन कार्सनलाई, जसले प्राचीन मिथकलाई आधुनिक प्रेम र पीडासँग जोडिन्

साहित्यको नोबेल ऐन कार्सनलाई, जसले प्राचीन मिथकलाई आधुनिक प्रेम र पीडासँग जोडिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्टकहोम- क्यानडाली लेखिका तथा कवयित्री ऐन कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल समितिका अनुसार कार्सनले आफ्ना रचनामार्फत प्राचीन युनानी–रोमन साहित्य, मिथक र कथालाई आधुनिक जीवन, प्रेम, सम्बन्ध र मानवीय पीडासँग जोड्दै नयाँ अर्थ दिएकी छन्।

उनको लेखनको विशेषता पुराना कथालाई पुनः प्रस्तुत गर्नु मात्र होइन, त्यसमा समकालीन जीवनका अनुभूति, कल्पना र मानवीय संवेदना मिसाउनु रहेको समितिले जनाएको छ।

कविता, कथा र निबन्धबीचको परम्परागत सीमालाई समेत कार्सनले आफ्नो लेखनमा पटक–पटक तोडेकी छन्। यही प्रयोगशील शैलीले उनलाई समकालीन विश्व साहित्यमा विशिष्ट पहिचान दिएको छ।

पुरानो मिथकमा नयाँ प्रेमकथा

कार्सनको चर्चित कृतिमध्ये ‘अटोबायोग्राफी अफ रेड : अ नोभेल इन भर्स’ पनि हो। सन् १९९८ मा प्रकाशित यो कृति हजारौं वर्ष पुरानो युनानी मिथकमा आधारित छ।

मिथकमा गेरियोन पखेटा भएको रातो राक्षसका रूपमा प्रस्तुत हुन्छ। तर कार्सनले त्यसलाई परम्परागत राक्षसको चरित्रमा सीमित राखिनन्। उनको कथामा गेरियोन संवेदनशील युवकका रूपमा आउँछ, जसले प्रेम, पारिवारिक सम्बन्ध, हिंसा र आफ्नो पहिचानसँग संघर्ष गर्छ।

यसरी उनले प्राचीन मिथकलाई आधुनिक मानिसका भावनासँग जोडिन्। हजारौं वर्ष पुरानो कथालाई आजको प्रेम र पीडाको कथा बनाउने यही शैली कार्सनको लेखनको महत्वपूर्ण विशेषता मानिन्छ।

‘द ब्यूटी अफ द हसब्यान्ड’मा वैवाहिक सम्बन्धको कथा

कार्सनको अर्को चर्चित कृति ‘द ब्यूटी अफ द हसब्यान्ड: अ फिक्सनल एस्से इन २९ ट्याङ्गोज’ हो, जुन सन् २००१ मा प्रकाशित भएको थियो।

कृतिमा वैवाहिक सम्बन्ध, प्रेम, विश्वासघात र सम्बन्ध टुटेपछि उत्पन्न हुने भावनात्मक जटिलतालाई प्रस्तुत गरिएको छ। उनले कथालाई २९ भागमा विभाजन गरेकी छन् र प्रत्येक भागलाई कवि जोन कीट्सका पंक्तिबाट सुरु गरेकी छन्।

कविता र गद्यको सीमालाई मिसाउँदै लेखिएको यो कृति कार्सनको प्रयोगशील साहित्यिक शैलीको अर्को उदाहरण हो।

भाइको सम्झनामा ‘नक्स’

सन् २०१० मा प्रकाशित ‘नोक्स’ पनि कार्सनको महत्वपूर्ण कृतिमा पर्छ।

यो पुस्तक उनका भाइ माइकलको सम्झनामा लेखिएको हो। माइकलको सन् २००० मा डेनमार्कमा मृत्यु भएको थियो। परिवारबाट टाढिँदै गएका भाइसँग जोडिएका स्मृति, शोक र अनुपस्थितिलाई कार्सनले यस कृतिमा साहित्यिक रूप दिएकी छन्।

‘नक्स’ परम्परागत अर्थमा सामान्य उपन्यास वा कवितासंग्रह मात्र होइन। यसमा कविता, अनुवाद, तस्बिर, दस्तावेज र स्मृतिको संयोजन पाइन्छ।

प्राचीन साहित्यकी अध्येता

ऐन कार्सनको साहित्यिक यात्राको आधार उनको प्राचीन युनानी साहित्यप्रतिको गहिरो अध्ययन पनि हो।

सन् १९५० मा क्यानडाको टोरन्टोमा जन्मिएकी कार्सनले प्राचीन युनानी र रोमन साहित्य अध्ययन गरेकी थिइन्। सन् १९८१ मा उनले यही विषयमा आफ्नो विद्यावारिधि शोध प्रकाशित गरेकी थिइन्।

प्राचीन साहित्यको यही गहिरो ज्ञानलाई उनले आधुनिक कविता, कथा र निबन्धमा प्रयोग गरिन्। त्यसैले उनका रचनामा हजारौं वर्ष पुराना मिथक र आजका मानिसका व्यक्तिगत अनुभव एकै ठाउँमा भेटिन्छन्।

पछिल्लो दशकमा पाँच महिला साहित्य नोबेल विजेता

पछिल्लो एक दशकमा साहित्यतर्फको नोबेल पुरस्कार पाउने १० साहित्यकारमध्ये पाँच जना महिला छन्।

सन् २०२४ मा दक्षिण कोरियाली लेखिका हान काङले साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन्। उनी एसियाबाट यो पुरस्कार पाउने पछिल्ला साहित्यकारमध्ये एक हुन्।

यस अवधिमा युरोपेली लेखकहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ। दक्षिण एसियाबाट भने पछिल्लो दशकमा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने लेखक छैनन्।

५० वर्षसम्म गोप्य रहन्छ उम्मेदवारी

साहित्यतर्फको नोबेल पुरस्कारका लागि उम्मेदवार छनोट प्रक्रिया लामो र गोप्य हुन्छ।

स्वीडिस अकादेमीका सदस्य, साहित्य तथा भाषाका प्राध्यापक, पूर्व नोबेल विजेता तथा लेखक संगठनका प्रमुखलगायतले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न सक्छन्। लेखक आफैंले आफ्नो नाम सिफारिस गर्न भने पाउँदैनन्।

नोबेल कमिटीले प्रारम्भिक रूपमा प्राप्त नामबाट लामो सूची तयार गर्छ। त्यसपछि सम्भावित उम्मेदवारको संख्या घटाउँदै अन्तिम पाँच नामसम्म पुर्‍याइन्छ र स्वीडिस अकादेमीका १८ सदस्यले मतदानमार्फत विजेता चयन गर्छन्।

तर यस प्रक्रियामा कसको नाम सिफारिस भयो वा अन्तिम सूचीमा को–को थिए भन्ने विवरण तत्काल सार्वजनिक हुँदैन।

नोबेलका नियमअनुसार उम्मेदवारीसम्बन्धी विवरण ५० वर्षसम्म गोप्य राखिन्छ। त्यसैले सन् २०२६ को साहित्य नोबेलका लागि कस–कसको नाम सिफारिस गरिएको थियो भन्ने पूर्ण विवरण अब सन् २०७६ मा मात्र सार्वजनिक हुनेछ।

भारतीय साहित्यबाट पनि विगतमा सर्वपल्ली राधाकृष्णन, श्री अरविन्द, ताराशंकर बन्द्योपाध्याय र आरके नारायणलगायतका लेखक साहित्य नोबेलका लागि सिफारिस भएका थिए।

ऐन कार्सनलाई यस वर्षको पुरस्कारले भने एउटा फरक साहित्यिक यात्रालाई अन्तर्राष्ट्रिय सम्मान दिएको छ, जहाँ प्राचीन मिथक आधुनिक जीवनसँग भेटिन्छ, प्रेमसँग हिंसा जोडिन्छ र व्यक्तिगत शोक विश्वव्यापी मानवीय अनुभवमा बदलिन्छ।