मन्त्री चौधरीसँग ओमानको प्रतिनिधिमण्डलको भेट

मन्त्री चौधरीसँग ओमानको प्रतिनिधिमण्डलको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाले बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटका क्रममा नेपाल र ओमानबिचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरीले प्रत्यक्ष हवाई उडान पुन: सञ्चालन हुन सके कृषि उपजको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कृषि, वन तथा वातावरणका क्षेत्रमा ओमानसँग सहकार्य गर्न नेपाल तयार रहेको बताइन् ।

जलवायु परिवर्तनका विषयमा मन्त्री चौधरीले नेपालको योगदान न्यून भए पनि यसबाट नेपालले गम्भीर असर भोगिरहेको उल्लेख गरिन् । उनले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् ।

हिमाली क्षेत्रमा हिमपात हुने स्थानमा वर्षा हुने क्रम बढेको तथा हालैका बाढीजन्य विपद्ले ठूलो क्षति पुर्‍याएको सन्दर्भ उल्लेख गर्दै उनले पर्वतीय कूटनीति र जलवायु परिवर्तनबाट सिर्जित हानि तथा क्षतिसम्बन्धी अन्तरराष्ट्रिय पहलमा ओमानको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन् ।

हालै नेपालमा आएको बाढीप्रति ओमानका प्रतिनिधिले दु:ख व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गरे । प्रतिनिधिमण्डलका प्रमुखले नेपाल र ओमानबिच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै भविष्यमा नेपालमा ओमानको दूतावास स्थापना गर्ने सम्भावना तथा कोभिड–१९ महामारीअघि सञ्चालनमा रहेको प्रत्यक्ष हवाई उडान पुन: सञ्चालनको महत्व औँल्याए । उनले ओमानमा उत्पादित ग्रीन युरिया भारतमा निर्यात भइरहेको जानकारी दिँदै नेपालमा पनि निर्यात गर्न सकिने सम्भावना व्यक्त गरे ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सरकार–सरकार संयन्त्रमार्फत मल आपूर्तिको व्यवस्था गर्न तथा कम्पनी–कम्पनी सम्झौतामार्फत खरिद, ढुवानी, पारवहन र लजिस्टिक व्यवस्थापनका विषयमा थप समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । यस विषयमा सम्बन्धित कम्पनीहरूसँग सम्पर्क तथा छलफल अघि बढाउन सकिने उनले बताए ।

नेपालबाट चिया, अलैँची, ताजा तरकारी, आँप, स्याउलगायत कृषि उपज तथा पशुजन्य उत्पादनको निर्यात प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । त्यसैगरी, ओमानमा कार्यरत नेपाली श्रमिकलाई थप सीपयुक्त बनाउने, सम्मानजनक तथा सुरक्षित रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी तथा न्यायोचित बनाउने विषयमा छलफल भएको छ ।

भेटले नेपाल र ओमानबिच कृषि, वातावरण, रासायनिक मल आपूर्ति, कृषि व्यापार, पर्वतीय कूटनीति तथा सीपयुक्त जनशक्ति व्यवस्थापनका क्षेत्रमा पारस्परिक हितमा आधारित सहकार्य विस्तार गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ ।