व्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य

व्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा सहकार्य हुने भएको छ ।

नेपाल–श्रीलंका चेम्बर अफ कमर्शको २०औँ साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापरिक सम्बन्ध थप विस्तार गर्दे लैजाने बताए ।

‘नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा सहकार्य, व्यापारिक सम्बन्ध विस्तार, व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापारमेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ,’ उनले भने । उनले २ देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताए ।

राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने एक्स्पो २०२७ मा नेपाली व्यवसायीको सहभागिताका लागि आग्रह गर्दै प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिए ।

श्रीलंकाका लागि नेपालका राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए । उनले सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए । राजदूत डा. झाले आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा बीटुबी बैठकमार्फत २ देशबीचको सद्भावलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उल्लेख गरे ।

नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत नेटवर्किङलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थांका, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गरे ।

नेपाल–श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष विजयबहादुर श्रेष्ठले  नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए । २ देशबीच विभिन्न समझदारी तथा व्यापारिक संवाद हुँदै आए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको उनको भनाइ थियो ।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष डा. श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अनर’, पर्यटन व्यवसायी जय देवानलाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ र चंकी क्षेत्रीलाई ‘बिजनेस अवार्ड’ प्रदान गरिएको थियो ।