काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाण्डुमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दु:ख, हैरानी तथा सास्ती दिई घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान गर्दा वलीले सेवाग्राहीसँग १० लाख घुस माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै १० लाख बिगो कायम गरेको छ ।
उक्त बिगोबमोजिम जरिवाना तथा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायको मागदाबी गर्दै आयोगले बिहीबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।



प्रतिक्रिया