समाजवादी अभियान थालेका झलनाथ नेकपाको बैठकमा गएनन्, स्पष्टीकरणबारे छलफल हुँदै

समाजवादी अभियान थालेका झलनाथ नेकपाको बैठकमा गएनन्, स्पष्टीकरणबारे छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रचण्डसँगको भेटमा पार्टीमै प्रतिबद्ध रहेको बताएका खनाल संयोजन समितिको बैठकमा अनुपस्थित

काठमाण्डु- वरिष्ठ नेता झलनाथ खनालले छुट्टै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र त्यसबारे छलफल सुरु भएको छ। अभियान घोषणा गरेका खनाल शुक्रबार बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा अनुपस्थित भएका छन्।

महाधिवेशनको कार्यतालिका सञ्चालनसम्बन्धी कार्यविधिबारे छलफल गर्न बसेको बैठकमा खनालको अभियानबारे पनि छलफल हुने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। खनाललाई स्पष्टीकरण सोध्ने कि नसोध्ने भन्ने निर्णय पनि बैठकले नै गर्ने उनले बताए।

असोज ६ गते बसेको बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म दुई महिना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसबीच खनालले आफ्नै नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा गरेपछि पार्टीभित्र यो विषयले प्रवेश पाएको हो।

बैठकमा अनुपस्थित

यसअघि असोज २० गते नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनालबीच भेटवार्ता भएको थियो। मानभवनस्थित प्रचण्ड निवासमा भएको करिब डेढ घण्टा लामो भेटमा खनालले आफ्नो अभियानका उद्देश्य र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए।

खनालको सचिवालयका अनुसार उनले वामपन्थी शक्तिबीच वैचारिक बहस अघि बढाउने, छरिएर रहेका कम्युनिस्ट शक्तिलाई वैचारिक आधारमा एकताबद्ध गर्ने र वामपन्थी एकतालाई सुदृढ बनाउने उद्देश्यले अभियान घोषणा गरिएको बताएका थिए।

उनले आफू नेपाली कम्युनिस्ट पार्टीमै प्रतिबद्ध रहेको स्पष्ट पार्दै पार्टीबाट बाहिरिन लागेको भन्ने भ्रमपूर्ण सूचना फैलाउने प्रयास भएकोप्रति दुःखसमेत व्यक्त गरेका थिए।

खनालको अभियानबारे जानकारी लिएपछि प्रचण्डले त्यसलाई सकारात्मक भनेको सचिवालयले जनाएको थियो। भेटमा समसामयिक राजनीति, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे पनि छलफल भएको थियो।

तर, प्रचण्डसँगको भेटमा पार्टीमै प्रतिबद्ध रहेको बताएका खनाल त्यसपछि बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सहभागी भएनन्। उनको अनुपस्थितिमा अभियानबारे छलफल हुन लागेको हो।

१५ बुँदे प्रस्ताव, वाम एकता र वैचारिक बहसमा जोड

खनालले असोज १९ गते पत्रकार सम्मेलनमार्फत समाजवादी जागरण अभियान घोषणा गरेका थिए। अभियानको बैठकले १५ बुँदे प्रस्ताव पारित गर्दै बृहत् वाम एकतालाई आजको आवश्यकता भनेको थियो।

प्रस्तावमा देशका कम्युनिस्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित रहेको र देश सामाजिक, आर्थिक, सांस्कृतिक तथा राष्ट्रियताको सङ्कटबाट गुज्रिरहेको उल्लेख छ।

साझा जनहित र राष्ट्रिय हितका सवालमा सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अभियानले आह्वान गरेको छ।

अभियानले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा समेत जोड दिएको छ। कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्दै वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउन प्रस्ताव गरिएको छ।

त्यस्तै, नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहस गर्न र समाजवादी तथा क्रान्तिकारी शक्तिबीच सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत तथा आचरणगत विषयमा नीतिनिष्ठ बहस अघि बढाउन अभियानले आह्वान गरेको छ।

खनालले अभियानलाई वामपन्थी एकता र वैचारिक पुनर्गठनको प्रयासका रूपमा व्याख्या गरेका छन्। अब उनको अभियानबारे नेकपाको केन्द्रीय संयोजन समितिले कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ।