तेस्रो साता पनि हलमा टिक्यो ‘बा: एक योद्धा’

तेस्रो साता पनि हलमा टिक्यो ‘बा: एक योद्धा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली चलचित्र ‘बाः एक योद्धा’ तेस्रो सातामा पनि प्रदर्शन भइरहेको छ। दर्शकबाट प्राप्त प्रतिक्रियाले चलचित्रको प्रदर्शनलाई निरन्तरता दिन मद्दत गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले बाबुको त्याग, संघर्ष र सन्तानप्रतिको समर्पणको कथा प्रस्तुत गरेकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा लिएको निर्माण पक्षको भनाइ छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई चलचित्रको बलियो पक्षका रूपमा लिइएको छ।

कलाकार र निर्देशकसहितको निर्माण टोली मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गरी काठमाडौं फर्किएको छ। टोलीले हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायत सहरका हलमा पुगेर दर्शकसँग अन्तर्क्रिया गरेको थियो।

‘हामीलाई काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो। हेर्नै पर्ने सिनेमा भनेर दर्शकले प्रतिक्रिया दिनुभएको छ,’ निर्देशक हरि लम्सालले भने, ‘दर्शकको साथ र मायाले हामी अहिले तेस्रो सातामा प्रदर्शन भइरहेका छौँ।’

निर्माण पक्षका अनुसार चलचित्रले प्रदर्शनको १० दिनमा १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।

बाबुको त्याग र संघर्षको कथा

‘बाः एक योद्धा’ नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषय चलचित्रमा समेटिएका छन्।

चलचित्रले पारिवारिक सम्बन्ध, अभिभावकको समर्पण र बुढेसकालमा आमाबाबुप्रतिको सन्तानको जिम्मेवारीलाई कथाको केन्द्रमा राखेको छ।

कलाकार?

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सहनिर्माता छन्। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।