काठमाण्डु– चीनसँगको हिल्सा सीमा नाका खुले पनि नेपाली नागरिक तथा सुरक्षाकर्मीका लागि हिल्साको अवस्था सहज बन्न सकेको छैन ।
लामो समय नाका बन्द हुँदा खाद्यान्न र औषधिको अभाव चुलिएको छ भने नेपालतर्फको सडकमा जमेको बाक्लो हिउँका कारण घर फर्किन चाहने नागरिक थप समस्यामा परेका छन् ।
गत ९ गतेदेखि हिल्सा नाका बन्द हुँदा त्यहाँ दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको थियो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मीले बताएका छन् । माछा–मासु उपलब्ध हुन छाडेको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।
खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको उनले बताए । हिल्सामा स्वास्थ्यचौकी वा मेडिकल सेवा उपलब्ध नहुँदा बिरामी पर्दा सामान्य औषधिको भर पर्नुपर्ने अवस्था छ । सशस्त्र प्रहरी बलका एक जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधिबाट उपचार भइरहेको सापकोटाले जानकारी दिए ।
यता, चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली हिल्साबाट नेपाल प्रवेश गरेका छन् । तर, नेपालतर्फको सडकमा बाक्लो हिउँ जमेकाले उनीहरूको यात्रा सहज हुन सकेको छैन । केही नागरिक हिउँ जमेको बाटो हुँदै पैदलै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहान हिल्साबाट यात्रा सुरु गर्ने तयारीमा छन् ।
नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउने काम बुधबारदेखि मात्रै सुरु भएको छ । हिउँ हटाउन सानो स्काभेटर प्रयोग गरिए पनि मेसिनको क्षमताका कारण दैनिक बढीमा एक–दुई किलोमिटर सडक मात्रै सफा गर्न सकिने अवस्था रहेको बताइएको छ ।
सडक सफाइको गति सुस्त भएपछि हिल्सामा रोकिएका नागरिकमा झनै चिन्ता बढेको छ । यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् ।
हाल हिल्सामा ३५ जना सशस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी कार्यरत छन् । यसबाहेक केही स्थानीय नागरिकसमेत हिल्सामा रहेका छन् ।
सीमा नाका बन्द हुँदा आपूर्ति ठप्प हुनु र नाका खुलेपछि पनि सडक सञ्चालनमा आउन नसक्नुले हिल्साको समस्या झनै जटिल बनेको छ । खाद्यान्नको मौज्दात घट्दै जानु, स्वास्थ्य उपचारको भरपर्दो व्यवस्था नहुनु र सडकमा बाक्लो हिउँ जमिरहनुले त्यहाँ रहेका नागरिक तथा सुरक्षाकर्मी थप जोखिममा परेका छन् ।
स्थानीय तथा सुरक्षाकर्मीले तत्काल प्रभावकारी उपकरण परिचालन गरी सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालन गर्नुपर्ने माग गरेका छन् । समयमै सडक खुलाउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्यसम्बन्धी संकट अझ गहिरिन सक्ने उनीहरूको भनाइ छ ।



प्रतिक्रिया