भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुन बरामद गरेको छ।

अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति छापा मारेर तीन चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’अन्तर्गत उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिइएको हो। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले उक्त क्रममा तीनजना चिनियाँ समातिएको बताएका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन छन्। उनीहरू बूढानीलकण्ठ–२, माथिल्लो भंगालमा घर भाडामा लिएर बस्दै आएका थिए।

प्रहरीले उनीहरूको साथबाट सुन, नगद, सुन ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण र विभिन्न कागजात बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार अमेरिका बस्दै आएका एक व्यक्तिलाई मासिक ३ लाख भाडा दिएर उनीहरूले घर लिएका थिए ।

२१ किलो ७५० ग्राम सुन, बजार मूल्य ५४ करोडभन्दा बढी

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको विवरणअनुसार बरामद सुनको कुल तौल २१ हजार ७५०.६८ ग्राम अर्थात् २१ किलो ७५०.६८ ग्राम छ।

प्रहरीका अनुसार बरामद सुनमध्ये १० किलो ९९७.९३ ग्राम तयारी अवस्थामा रहेको छ भने १० किलो ७५२.७५ ग्राम अर्धतयारी अवस्थामा रहेको छ।

घरबाट प्रहरीले ठोस र अर्धठोस गरी २१ किलो सुन बरामद गरेको हो। भाडामा लिएको उक्त घरलाई सुन प्रशोधन गर्ने कारखानामा परिणत गरिएको थियो । उक्त क्रममा सुन गाल्ने मेसिनहरू समेत बरामद भएको छ। प्रहरीले गालेर तयारी अवस्थाका ११ वटा टुक्रामा रहेका १०.९९७ किलो सुन बरामद गरेको छ।

उता थप १०.७५२ किलो अर्धठोस सुन पनि बरामद भएको छ। उक्त अर्धठोस सुनलाई प्लास्टिकमा हालेर राखेको भेटिएको छ। दुवै आकारको सुन जम्मा २१ किलो ७५० ग्राम रहेको छ। बरामद सुनको शुक्रबारको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध सुनको कारोबार र ओसारपसारमा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको कारोबारको स्रोत, सुन कहाँबाट ल्याइएको थियो र कहाँ लैजाने तयारी थियो भन्नेबारे अनुसन्धानबाट थप विवरण खुल्ने अपेक्षा गरिएको छ।