रियाद विमानस्थलमा हुथी आक्रमण : एक पाइलटको मृत्यु, विमानमा ठूलो क्षति भएको पुष्टि

रियाद विमानस्थलमा हुथी आक्रमण : एक पाइलटको मृत्यु, विमानमा ठूलो क्षति भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबको राष्ट्रिय ध्वजावाहक ‘साउदिया’ले बिहीबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणपछि पाइलट हमुद बिन अली अल-कल्थामीको मृत्यु भएको जनाएको छ।

एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा विमानस्थलमा भएको घटनाका कारण क्याप्टेनको मृत्यु भएको उल्लेख गरिएको छ।

यो घटना यमनको हुथी आन्दोलनले गरेको दाबी गरिएको आक्रमणका क्रममा भएको हो। हुथी समूहले रियाद विमानस्थललाई ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत निशाना बनाएको जनाएको छ।

यात्रु नभएको अवस्थामा जमिनमा पार्क गरिएको साउदियाको एउटा विमान आगलागीका कारण क्षतिग्रस्त भएको छ।

साउदीले एउटा विमानमा क्षति पुगेको पुष्टि गर्दै बिहीबार साँझ ६ बजेसम्म विमानस्थलको सञ्चालन पुनः सुरु भएको जनाएको छ।

साउदी सञ्चारमाध्यमले मृत्यु भएका पाइलटको तस्बिर सार्वजनिक गरेका छन्।

यसै साता साउदी नागरिक उड्डयन अधिकारीहरूले किङ खालिद र अब्हा विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका थिए।

मृत्यु हुनेमा अब्हामा एक इजिप्टियन र एक अल्जेरियन नागरिक तथा रियादमा एक सुडानी नागरिक रहेका छन्। घटनामा दर्जनौँ घाइते भएका थिए।

साउदी सेनाले आफूहरूले केही क्षेप्यास्त्रहरू रोक्न सफल भएको जनाएको छ। अवरोधका कारण केही अन्तर्राष्ट्रिय एयरलाइन्सले रियादका लागि उडान अस्थायी रूपमा स्थगित गरेका छन्।