काठमाण्डु– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत, ललितपुरकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न आदेश दिएको हो ।
यस्तै कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख र लेखा अधिकृत सन्जीव पाण्डेलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चारै जनाविरुद्ध ठगी, आर्थिक अनियमितता तथा खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।
बिहीबार सरकारी वकिलको कार्यालयले ललितपुर जिल्ला अदालतमा एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन् । एन्फामा आर्थिक अनियमितता, म्याच फिक्सिङ ९खेल मिलोमतो० र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार उनीहरूविरुद्ध रु ९३ लाख ९०० बिगो कायम गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एन्फामा भएको आर्थिक अनियमिततालगायतका विषयमा अनुसन्धान गरेको थियो ।
फिफा विश्वकप, २०२६ र एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको घरेलु मैदानको खेल नियतवश बहराइनमा सारिएको अभियोगमा उल्लेख गरिएको छ । उक्त खेल बहराइनमा खेलाएबापत त्यहाँको फुटबल सङ्घबाट टिकट बिक्रीको राजस्वअन्तर्गत एन्फाले पाउनुपर्ने २० हजार अमेरिकन डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट देखिएको अभियोग पत्रमा उल्लेख छ ।
अभियोगपत्रमा रु १० लाखभन्दा माथिको खरिदमा अनिवार्य टेन्डर प्रक्रिया अपनाउनुपर्नेमा एउटै स्वामित्वका तीनवटा नक्कली फर्महरू खडा गरी कोटेशनमार्फत खेल सामग्री खरिद गरिएको पाइएको अनुसन्धानमा देखिएको छ । एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाखभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।
फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएको ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबाजारी र व्यक्तिगत रूपमा किनबेच गराएको पनि अभियोगमा उल्लेख छ । शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताबमोजिम एन्फाको खातामा आउनुपर्ने रकम संस्थाको खातामा नहाली महासचिव किरण राईले २५ लाख व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको पनि अनुसन्धानबाट देखिएको छ ।



प्रतिक्रिया