वंशीराजलाई एआईजीबाट हटाउने निर्णयमा गृहमन्त्री गुरुङले राखे ४ तर्क

वंशीराजलाई एआईजीबाट हटाउने निर्णयमा गृहमन्त्री गुरुङले राखे ४ तर्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्री सुधन गुरुङले चार तर्क अघि सारेका छन्।

गृहमन्त्री गुरुङको सचिवालयमार्फत सार्वजनिक गरिएका तर्कमा दाहालले आचरण र अनुशासन उल्लंघन गरेको, संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको तथा गृह मन्त्रालय मातहतका सुरक्षा निकायमा हुने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख छ।

गृह मन्त्रालयले शुक्रबार दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा हिरासतमा रहेका इमान सापकोटासँगको उठबसलाई शंकास्पद भनेर सरकारले दाहाललाई सेवाबाट हटाएको हो । यसै निर्णयमा गृहमन्त्रीका चार तर्क आएका हुन्

१) आचरण र अनुशासन उल्लंघन गरेपछि कारबाही

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले पटक–पटक आचरणसम्बन्धी व्यवस्था उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा विभागीय कारबाही गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

२) उच्च तहका सुरक्षा अधिकारीमाथि विभागीय कारबाही

सशस्त्र प्रहरी ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी सेवा र पदअनुसारको आचरण पालना नगर्ने उच्च तहका सशस्त्र प्रहरी कर्मचारीमाथि गृहमन्त्रीले विभागीय कारबाही गरेको सचिवालयको भनाइ छ।

यसलाई सशस्त्र प्रहरी बलको इतिहासमा उच्च तहका अधिकारीमाथि गरिएको महत्त्वपूर्ण कारबाहीका रूपमा प्रस्तुत गरिएको छ।

३) सुरक्षा निकायका गतिविधिमाथि सूक्ष्म निगरानी

गृह मन्त्रालय मातहतका प्रहरी कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि गृहमन्त्रीले सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ।

४) कानुनविपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता

कानुनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने गृहमन्त्रीको भनाइ छ। विधिको शासन, कानुनको परिपालना र सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको सचिवालयले जनाएको छ।