गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, पाए ६ हजार ५८४ मत

गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, पाए ६ हजार ५८४ मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।

निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६ हजार ९५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम निर्वाचन प्रक्रिया पूरा गरी राष्ट्रिय सभागृहस्थित सभा हलमा मतगणना गरिएको थियो।

केन्द्रीय निर्वाचन समितिले असोज २३ गते नै थापालाई सभापति पदमा निर्वाचित भएको घोषणा गरेको हो।

विद्यार्थी नेतादेखि कांग्रेस सभापतिसम्म

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्। विद्यार्थी राजनीतिबाट उदाएका थापा पार्टीभित्र पुस्तान्तरण र संगठनात्मक सुधारको मुद्दा उठाउँदै नेतृत्वको शीर्ष स्थानमा पुगेका हुन्।

२०३३ साल साउन ४ गते सोलुखुम्बुमा महेन्द्रकुमार थापा र रामेश्वरी थापाको कोखबाट जन्मिएका गगनको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँगै सुरु भएको थियो। नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी तीन दशकभन्दा लामो राजनीतिक यात्रापछि कांग्रेसको नेतृत्वमा पुगेका हुन्।

विद्यार्थी राजनीतिबाट उदय

थापाले माध्यमिक तहको शिक्षा काठमाडौंस्थित सिद्धार्थ वनस्थली हाइस्कुलबाट हासिल गरेका हुन्। अध्ययनका क्रममा उनको रुचि डाक्टर वा इन्जिनियर बन्ने थियो। तर, विद्यार्थी राजनीतिमा सक्रिय हुँदै जाँदा उनको बाटो राजनीतितर्फ मोडियो। उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भएका थापा २०५३ सालमा सचिव बने। २०५५ सालमा स्ववियु सभापतिमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिमा उनको प्रभाव थप विस्तार भयो।

त्यसपछि उनी नेविसंघको केन्द्रीय राजनीतिमा सक्रिय भए। २०५७ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका थापा २०५९ देखि २०६१ सालसम्म महामन्त्रीको जिम्मेवारीमा रहे।

राजकाज मुद्दादेखि जनआन्दोलनसम्म

२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालको राजनीति थप जटिल बनेको थियो। लोकतान्त्रिक आन्दोलन उठ्दै गर्दा तत्कालीन सरकारले थापामाथि राजकाज मुद्दा लगाएको थियो।

२०६२–०६३ को जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरे। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध उनले दिएका आक्रामक र प्रभावशाली भाषणले उनलाई राष्ट्रिय राजनीतिमा परिचित बनायो। गणतन्त्र स्थापनाको पक्षमा उभिएका थापा युवा पुस्ताका चर्चित राजनीतिक नेताका रूपमा स्थापित भए।

संविधानसभा सदस्यदेखि स्वास्थ्यमन्त्रीसम्म

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा थापा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बने। संविधान निर्माण र राष्ट्रिय राजनीतिक बहसमा सक्रिय रहँदै आएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।

दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित भएपछि उनको संसदीय राजनीतिक यात्रा थप सशक्त बन्यो। २०७० सालमै उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री बने।

काठमाडौं क्षेत्र नम्बर ४ बाट त्यसयताका प्रतिनिधिसभा निर्वाचनमा निरन्तर विजयी हुँदै आएका थापा आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनाधार भएका नेताका रूपमा परिचित छन्।

कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश

कांग्रेसको १२औँ महाधिवेशनमा थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्व, नेतृत्व हस्तान्तरण र संगठनात्मक सुधारको मुद्दा उठाउँदै आएका उनले क्रमशः केन्द्रीय राजनीतिमा आफ्नो स्थान बलियो बनाए।

१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थापा पराजित भए। त्यसपछि तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

१४औँ महाधिवेशनमा भने थापा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदका उम्मेदवार बने। उक्त निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै महामन्त्री निर्वाचित भएपछि पार्टीभित्र उनको राजनीतिक प्रभाव थप बढ्यो।

पुस्तान्तरणको मुद्दा र सभापतिमा उदय

कांग्रेसभित्र लामो समयदेखि स्थापित नेतृत्व र नयाँ पुस्ताबीचको बहस चलिरहेका बेला थापाले नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठनात्मक सुधारलाई आफ्नो राजनीतिक एजेन्डा बनाउँदै आएका थिए।

पार्टीको परम्परागत नेतृत्वशैलीमा परिवर्तन आवश्यक रहेको तर्क गर्दै उनले कांग्रेसलाई नयाँ पुस्ताको चाहना र समकालीन राजनीतिक चुनौतीअनुसार अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। उनी तत्कालीन ुसभापति शेरबहादुर देउवालाई विदा गरेर २०८२ पुस अन्तिममा पहिलोपटक पटक विशेष महाधिवेशनबाट सभापति पदान पुगे। त्यसका उनलाई भदौ २३ र २४ को आन्दोलनले बल दियो ।

१५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थापा अन्ततः पार्टीको नेतृत्वमा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उनले ६ हजार ५८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।

यससँगै विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा कांग्रेसको सर्वोच्च नेतृत्वसम्म पुगेको छ। अब पार्टी संगठनलाई कसरी अघि बढाउने, पुस्तान्तरणको एजेन्डालाई व्यवहारमा कसरी लागू गर्ने र बदलिँदो राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कसरी परिभाषित गर्ने भन्ने विषय उनको नेतृत्वका प्रमुख चुनौती हुनेछन्।

व्यक्तिगत जीवन र रुचि

गगन थापाले २०६५ वैशाखमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका हुन्। राजनीतिबाहेक उनलाई अध्ययन गर्ने, चलचित्र हेर्ने र घुमफिर गर्ने रुचि छ।

उनले ‘संविधानसभामा नेपाली कांग्रेस’ नामक पुस्तकसमेत लेखेका छन्। संविधान निर्माण प्रक्रियामा कांग्रेसको भूमिका र राजनीतिक विचारप्रति उनको चासो उक्त पुस्तकमा प्रतिबिम्बित भएको छ।

विद्यार्थी राजनीतिमा सक्रिय रहँदै सार्वजनिक बहसमा स्थापित भएका थापा संसदीय राजनीति, सरकार सञ्चालन र पार्टी संगठनको नेतृत्व हुँदै कांग्रेस सभापतिसम्म पुगेका छन्। उनको राजनीतिक यात्राको आगामी चरणले पुस्तान्तरण र संगठनात्मक सुधारका उनका प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण हुन्छन् भन्ने देखाउनेछ।