काठमाण्डु – गृह मन्त्रालयले सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा प्रयोग भएका सुरक्षाकर्मीहरूलाई फिर्ता गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो।
कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिइएको सूचनामा उल्लेख छ।
मन्त्रालयले सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई ७ दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ।
‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले पाउने व्यक्तिगत सुरक्षाकर्मीको स्पष्ट व्यवस्था बमोजिम सुरक्षाकर्मी खटाउने गरिएकोमा पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएको परिप्रेक्ष्यमा सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई सात दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन मिति २०८३। ०६। २२ मा निर्देशन भइसकेको छ’, जारी सूचनामा भनिएको छ ।
साथै निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ।
कोही कसैले कानून विपरीत सुरक्षाको कार्य वाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग भएगरेको पाइएमा खटिएका सुरक्षाकर्मी एवं सर्वसाधारणले गृह मन्त्रालय कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिनुहुनु पनि मन्त्रालयले अनुरोध गरेको छ।




प्रतिक्रिया