काठमाण्डु – अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन् ।
काठमाण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
बोसिस्टोले एनपीएलको अघिल्ला २ संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रिनेछन् ।
काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलंकाका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।
३३ वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यू–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यू–१९ विश्वकप खेलेका थिए ।
बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा १ हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।



प्रतिक्रिया