परराष्ट्रमन्त्री खनाल ३ देशको भ्रमणपछि स्वदेश फिर्ता, जलवायु मुद्दामा उपलब्धि

परराष्ट्रमन्त्री खनाल ३ देशको भ्रमणपछि स्वदेश फिर्ता, जलवायु मुद्दामा उपलब्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ ।

यससँगै बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिए ।

स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्त्वपूर्ण रहेको बताए ।

आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया, फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गरेका थिए ।

जलवायु न्यायका लागि नेपालको आवाज

भ्रमणका क्रममा मन्त्री खनालले ६ अक्टोबरमा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’लाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गरेका थिए ।

उनले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु संकटका परस्पर जोडिएका पक्ष भएको बताउँदै हिमालदेखि समुद्रसम्मका राष्ट्रबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्बोधनका क्रममा मन्त्री खनालले नेपालको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनुपरेको बताएका थिए ।

कोप–३१ का लागि नेपालका ४ प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको विकासमा जोड दिएका थिए ।

टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको अवलोकन गरेका थिए ।

भ्रमणले हिमाली क्षेत्रको जलवायु जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबिच समानता पहिचान गर्न तथा जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्न सहयोग पुगेको उनले बताएका थिए । ‘प्रि–कोप’ कार्यक्रमका अवसरमा जारी ‘टाकु पाकासोआ घोषणापत्र’मा हिमनदी तथा हिमचादरको क्षयसम्बन्धी विषय समावेश भएको पनि उनले जानकारी दिएका थिए ।

अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

८ अक्टोबरमा अस्ट्रेलियाको मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा विदेशमन्त्री पेन्नी वोङसँग भएको उनको द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरेका थिए । बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो ।

थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणासँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ ।

बैठकमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरेका थिए ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबिच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका थिए ।

नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भित्र्याउने र २ देशबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालले बताएका थिए ।

न्यु साउथ वेल्ससँग विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव

मन्त्री खनालले ८ अक्टोबरमा अष्ट्रेलियाको सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गरेका थिए । भेटमा प्रिमियर मिन्सले नेपालको बाढी विपद्प्रति व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद दिएका थिए ।

न्यु साउथ वेल्सले विगतमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले विपद् व्यवस्थापनसम्बन्धी निकायबिच अध्ययन भ्रमण तथा प्राविधिक आदानप्रदान गर्ने सम्भावनाबारे पनि विचारविमर्श गरेका थिए ।

सिड्नीको वेस्टर्न सिड्नी अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

यसै क्रममा मन्त्री खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग क्यानबेरामा भेटवार्ता गरेका थिए । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, नेपाली विद्यार्थी तथा प्रवासी नेपाली समुदायका चासो र कोप–३१ मा नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।

उनले अस्ट्रेलियाको संघीय संसद्मा प्रतिपक्षी दलका उपनेता एङ्गस टेलरसँग भर्चुअल संवाद गरेका थिए भने सांसद एलेक्स हकसँग सिड्नीमा भेट गरी शैक्षिक सहकार्य, नेपाली विद्यार्थीको हित र द्विपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गरेका थिए ।

पुनर्निर्माणमा प्रवासी नेपालीको सीप र ज्ञान उपयोग गर्न आग्रह

अस्ट्रेलियामा बसोबास गर्ने २ लाखभन्दा बढी नेपाली समुदायका प्रतिनिधि, प्राज्ञ, व्यवसायी तथा विद्यार्थीसँग मन्त्री खनालले मेलबर्न, सिड्नी र क्यानबेरामा अन्तरक्रिया गरेका थिए ।

नेपालमा आएको बाढीपछि राहत तथा सहयोग जुटाउन प्रवासी नेपालीले देखाएको तत्परताको प्रशंसा गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा उनीहरूको सीप, ज्ञान र प्रविधि उपयोग गर्न आह्वान गरेका थिए ।

नेपालमा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार करिब ५ अर्ब अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रवासी नेपाली समुदायलाई देशको पुनर्निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा थप प्रभावकारी बनाउने र समुदायका चासो सम्बोधन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए ।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिन निर्देशन

भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गरी सेवा प्रवाह तथा कूटनीतिक गतिविधिबारे जानकारी लिएका थिए । उनले दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकलाई उपलब्ध गराइने राहदानी, प्रमाणीकरण लगायतका कन्सुलर सेवा छरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन निर्देशन दिएका थिए ।

नेपालको राष्ट्रिय हितअनुकूल आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न, अस्ट्रेलियाबाट गुणस्तरीय लगानी भित्र्याउन, द्विपक्षीय व्यापार अभिवृद्धि गर्न, पर्यटन प्रवर्द्धन गर्न र २ देशबिच भएका सहकार्यलाई परिणाममुखी बनाउन उनले निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री खनालले समग्र भ्रमणबाट नेपालको जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय स्तरमा सशक्त बनाउन, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि थप सहयोग जुटाउन तथा व्यापार, लगानी, शिक्षा र हवाई सम्पर्कसम्बन्धी द्विपक्षीय कार्यसूची अघि बढाउन सहयोग पुगेको बताए ।