दिल्लीबाट पक्राउ परे ममता र केजरीवाल, प्रदर्शनकारीले तोडे प्रहरीका ब्यारिकेड

दिल्लीबाट पक्राउ परे ममता र केजरीवाल, प्रदर्शनकारीले तोडे प्रहरीका ब्यारिकेड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा सयौँ प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।

दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका ब्यारिकेड तोडेका थिए । प्रहरीले उनीहरूलाई तितरबितर पार्दै नियन्त्रणमा लिएको थियो । दिल्लीका जन्तरमन्तर, कनॉट प्लेस र मिन्टो ब्रिजलगायत विभिन्न स्थानबाट १ हजारभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको जनाइएको छ ।

प्रदर्शनकारी र प्रहरीबिचको झडपमा १ प्रदर्शनकारीको टाउको फुटेको छ । इम्तियाज अली मार्गस्थित आकाशवाणी भवननजिक प्रदर्शनकारीले ब्यारिकेड पार गरेर प्रहरीमाथि ढुंगा प्रहार गर्दा २ प्रहरी घाइते भएको समाचारमा उल्लेख छ ।

विमानभित्रैबाट पक्राउ परे आयोजक

प्रदर्शनअघि ‘ककरोच जनता पार्टी’ (सीजेपी) संस्थापक अभिजित दीपकेलाई मुम्बईबाट दिल्ली पुगेको विमानभित्रैबाट प्रहरीले हिरासतमा लिएको थियो । उनीसँगै पार्टीका नेता सौरभ दास र आशुतोष रांकालाई पनि नियन्त्रणमा लिइएको छ ।

दीपकेले सम्भावित पक्राउको आशंकामा शुक्रबार राति नै पूर्वरेकर्ड गरिएको भिडियो सार्वजनिक गर्दै आफूहरू हिरासतमा परे आन्दोलनको नेतृत्व अजिंक्य शिन्देले गर्ने बताएका थिए ।

शिन्देले भिडियो सन्देश जारी गर्दै प्रदर्शनकारीलाई जन्तरमन्तरतर्फ अघि बढ्न आह्वान गरेका छन् । प्रहरीले जहाँ रोके पनि त्यही स्थानलाई जन्तरमन्तर बनाएर प्रदर्शन गर्ने उनले बताएका छन् ।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग

सीजेपीले मतदाता नामावलीमा कथित अनियमितता र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियाको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेको छ ।

पार्टीले शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर छोटो समयअघि मात्र जानकारी गराइएको भन्दै दिल्ली प्रहरीले प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको थियो ।

प्रदर्शनमा आम आदमी पार्टी (आप) र वामपन्थी दलका नेता तथा कार्यकर्ता सहभागी भएका छन् । कांग्रेसले भने प्रदर्शनमा सहभागी नहुने निर्णय गरेको समाचारमा उल्लेख छ ।

प्रदर्शनका क्रममा आप नेता गोपाल राय, मनीष सिसोदिया, कम्युनिस्ट पार्टीका महासचिव एमए बेबी, वामपन्थी नेतृ वृन्दा करात र केरलका पूर्वमुख्यमन्त्री पिनराई विजयन लगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

केजरीवालले भने, ‘यो संकटकालभन्दा खराब’

पूर्वमुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल एक्समार्फत सरकारको आलोचना गर्दै भारतमा लोकतन्त्र कमजोर पारिएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘यो संकटकालभन्दा पनि खराब अवस्था हो । हामी मोदीको तानाशाहीमा बाँचिरहेका छौँ ।’

कांग्रेस नेता राहुल गान्धीले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार पदबाट हट्ने र मोदी सरकारसमेत जाने दाबी गरेका छन् । त्यसपछि लोकतन्त्र सुधार्ने काम सुरु हुने उनको भनाइ छ ।

अर्थशास्त्री जाँ द्रेजले पनि अत्यधिक सुरक्षाकर्मी परिचालन गरेर नागरिकलाई प्रदर्शनमा सहभागी हुनबाट रोकिएको आरोप लगाएका छन् । उनका अनुसार सरकारलाई हिंसाको भन्दा पनि नागरिकले आफ्नो मतदान अधिकार खोसिएको थाहा पाउने डर छ ।

यसअघि सर्वोच्च अदालतले प्रदर्शन रोक्न आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न सरकारलाई सचेत गराएको थियो । अदालतले दिल्ली मेट्रो र रेल सेवा पूर्णरूपमा बन्द गर्न नमिल्ने पनि बताएको समाचारमा उल्लेख छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली मेट्रोका ४५ वटा स्टेसन बन्द गरिएको र २ स्टेसनमा २५० वटा रेल सेवा रद्द गरिएको समाचारमा जनाइएको छ ।