सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाण्डुको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् ।

पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो ।

हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवङ्गत पितृको सम्झना, सम्मान तथा आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ । पितृको तिथिअनुसार श्राद्ध गर्नुपर्ने धार्मिक मान्यताका कारण पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल थियो ।

पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आएका पण्डित दीर्घराज रेग्मीले बिहानैदेखि भक्तजन धार्मिक विधिअनुसार तर्पण तथा पिण्डदान गर्न आइरहेको जानकारी दिए । उनले सोह्र श्राद्ध पितृको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएकाले श्रद्धालुहरू अन्तिम दिन पनि विधिपूर्वक श्राद्ध तथा पिण्डदानमा सहभागी भइरहेको बताए ।

अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्ध दिवङ्गत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक कर्म भएको बताए । उनका अनुसार सोह्र श्राद्धका अवसरमा पितृको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ ।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन बढेको छ । विशेषगरी बागमती नदी किनारमा दिवङ्गत आफन्तको सम्झनामा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ । श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउने पण्डितलाई भ्याइँनभ्याइँ भएको छ ।