टाइब्रेकरमा झापा-११ लाई हराउँदै नेपाल पुलिसले जित्यो पथरी गोल्डकप

टाइब्रेकरमा झापा-११ लाई हराउँदै नेपाल पुलिसले जित्यो पथरी गोल्डकप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी- नेपाल पुलिस फुटबल क्लबले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप २०८३ को उपाधि जितेको छ।

मोरङको पथरी रङ्गशालामा शनिबार भएको फाइनलमा निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा बाजी मार्दै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापा–११ ले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको २५औँ मिनेटमा जोन विष्टको गोलबाट पुलिसले अग्रता लिएको थियो। दोस्रो हाफमा झापाका प्रशान्त लक्समले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

७३औँ मिनेटमा सुवास थारुले गोल गरेपछि पुलिसले पुनः अग्रता बनायो। तर, तीन मिनेटपछि नै झापाका वैकल्पिक खेलाडी आशिष चापागाईंले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा पुलिसका अमित तामाङ, निरज खड्का, दशरथ गिरी, राम वजी र सुजन बलम्पाकी मगरले गोल गरे।

झापाका देवेन्द्र तामाङ, प्रशान्त लक्सम, रोमन भुजेल र आशिष चापागाईंले गोल गरे पनि निमा तामाङको प्रहार पोस्टमा लागेर फर्किएपछि झापा उपाधि जित्नबाट वञ्चित भयो।

फाइनल खेलको म्यान अफ द म्याच पुलिसका रोमन भुजेल घोषित भए। प्रतियोगितामा पुलिसकै अमित टमाटाले उत्कृष्ट गोलरक्षक, चेतन घिमिरेले उत्कृष्ट प्रशिक्षक र सुजन बलम्पाकी मगरले सर्वोत्कृष्ट खेलाडीको उपाधि पाए।

त्यस्तै, आयोजक पथरी–११ का विशाल दर्लामी मगर उदयीमान खेलाडी घोषित भए भने झापाका प्रताप राई सर्वाधिक गोलकर्ता बने।

विजेता तथा उपविजेता टोली र विधागत उत्कृष्ट खेलाडीलाई मोरङ–३ का सांसद गणेश कार्की, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, गृह मन्त्रालयको सचिवालयका सदस्य जेम्स कार्की र आयोजक क्लबका अध्यक्ष सुमन विकले पुरस्कार तथा ट्रफी प्रदान गरे।

असोज १७ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न क्लबको सहभागिता थियो।