कास्की – पोखरामा शनिबार सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् ।
पोखरा–२२ पुम्दी–भुम्दीमा आयोजित प्रतियोगितामा निर्धारित ८ किलोमिटर दूरी उनले ३४ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि रक्षा गर्न सफल भए । बैतडीका रावतले अघिल्लो संस्करणको उपाधिसमेत जितेका थिए ।
च्याम्पियन नरेन्द्रले उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यसैगरी गौतम श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट १६ सेकेण्डमा पूरा गरे । उनले ३० हजार पुरस्कार पाए ।
नीरज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तृतीय बने । उनले १५ हजार पुरस्कार पाए । महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम हुन सफल भइन् । उनले निर्धारित ८ किमी दूरी ४८ मिनेट १३ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो सहभागितामा उपाधि विजेता उनले नगद १५ हजार प्राप्त गरिन् ।
दोरपता कठायतले ५० मिनेट २० सेकेण्ड समय लगाइन् र द्वितीय बन्दै ७ हजार पुरस्कार पाइन् । मीनु बुढाले ५१ मिनेट १३ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भइन् र ५ हजार पुरस्कार पाइन् । यू–१६ तर्फ कमल विक प्रथम, मुलुक सिंह खत्री द्धितीय र सक्षम बोहोरा तृतीय भए । पोखरा–२२ वडाअन्तर्गत क्रिशल परियार प्रथम भए । सुयन विकले द्वितीय स्थान बनाउँदा कमल पौडेल तृतीय भए ।
भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । किशोर थापा द्वितीय र कमल गुरुङ तृतीय बने । विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेण्डर दोस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, द्वितीय र तृतीयले क्रमश: १५ हजार, १० हजार र ७ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित दौड विश्व शान्ति स्तूपदेखि सुरु भएर विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो । विजयी खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकाल, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका शसस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कँडेल, लगायतले पुरस्कार वितरण गरेका छन् ।
सोही पुम्दीभुम्दीको पर्यटन प्रवर्द्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो । गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष छन् ।



प्रतिक्रिया