काठमाण्डु – बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरङ त्यसतर्फ जाँदैछन् ।
गोरखको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आइतबार बिहान अचानक बाढी भएको हो ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
बाढीले गोरखाको माछिखोला बजारमा ठुलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठुलो क्षति पुर्याएको छ ।
उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ । आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।



प्रतिक्रिया