बुढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी, जोखिम कायमै, सेनाको टोली प्रभावित क्षेत्रमा

बुढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी, जोखिम कायमै, सेनाको टोली प्रभावित क्षेत्रमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखाको बुढीगण्डकी नदीमा तीन चरणमा बाढी आएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वअनुमान शाखाले दोस्रो बाढीले गोरखाको आरुघाटमा खतरा तह पार गरेको जनाएको छ । नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको पनि विभागले जनाएको छ ।

विभागका प्रमुख विनोद पराजुलीका अनुसार आइतबार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुमचेत क्षेत्रमा ठूलो बाढी उत्पन्न भएको हो। बाढीले माथिल्लो क्षेत्रमा क्षति पुर्‍याइसकेको छ भने तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ।

विभागले आरुघाटमा पहिलो बाढी बिहान करिब ६ः३० बजे आएको जनाएको छ । त्यसपछि बिहान ७ः५० बजे दोस्रो ठूलो बाढी आएको र त्यसले खतरा तह पार गरेको हो । दोस्रो बाढी घटेपछि फेरि तेस्रो बाढी देखिएको पराजुलीले जानकारी दिए।

‘अहिलेसम्मको अवस्था हेर्दा आरुघाटभन्दा तल्लो क्षेत्रमा ठूलो असर पर्ने देखिएको छैन। तर माथिल्लो क्षेत्रमा ठूलो क्षति भइसकेको अवस्था छ,’ पराजुलीले भने।

प्रारम्भिक रूपमा मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट बाढी सुरु भएको देखिए पनि पहिरोले नदी थुनिएर बाढी आएको हो वा हिमाली क्षेत्रबाटै बाढी उत्पन्न भएको हो भन्नेबारे यकिन भइसकेको छैन।

पराजुलीका अनुसार बाढीको वास्तविक कारणबारे सम्भवतः साँझसम्म तथ्य खुल्न सक्छ। विभागले गोरखामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको पनि जनाएको छ । महाशाखाका अनुसार आयतबार बिहानसम्मको विवरणमा गोरखामा ठूलो वर्षा भएको देखिँदैन।

त्रिशूली दोभानसम्म उच्च सतर्कता अपनाउन आग्रह

यसबीच बाढी पूर्वानुमान शाखाले बूढीगण्डकीदेखि त्रिशूली दोभानसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनारका घर छाडेर सुरक्षित उच्च स्थानमा जान र बूढीगण्डकी करिडोरका सडक प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।

विशेषगरी आरुघाट, तातोपानी, माछिखोला, आर्खेतलगायत बूढीगण्डकी नदी किनारका बजार तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई नदी छेउका घरमा नबस्न पराजुलीले आग्रह गरेका छन्।

सेनाको टोली प्रभावित क्षेत्रमा

बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ। दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आकलन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ।

काठमाण्डुमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टिम हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।