होर्मुज जलमार्गमा तेल ट्यांकर विस्फोट

होर्मुज जलमार्गमा तेल ट्यांकर विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यबाट अनधिकृत बाटो हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ।

इरानी नौसेनाका अनुसार ट्यांकरले कच्चा तेल बोकेको थियो र यात्रा गर्दा आफ्नो जीपीएस तथा नेभिगेसन प्रणाली बन्द गरेको थियो। समुद्री सुरुङमा ठोक्किएपछि ट्यांकरमा ठूलो विस्फोट भएको र आगलागी भएको जनाइएको छ।

इरानले उक्त क्षेत्रलाई उच्च जोखिमयुक्त भन्दै आफ्ना नियम उल्लङ्घन गरेर अनधिकृत मार्ग प्रयोग गर्ने जहाजमाथि कारबाही गरिने चेतावनी दिएको छ।

यसअघि शुक्रबार पनि इरानी नौसेनाले ‘एनभी सनसाइन’ नामक ग्यासवाहक जहाजले होर्मुज जलडमरूमध्यको दक्षिणी भागबाट अनधिकृत बाटो हुँदै अघि बढ्न खोजेको भन्दै कारबाही गरेको दाबी गरेको थियो। उक्त जहाजको इन्जिन कक्षमा आगलागी भएको इरानी पक्षले जनाएको छ।

इरानले समुद्री क्षेत्रमा बढ्दो तनावका लागि अमेरिकी सेनालाई जिम्मेवार ठहर गर्दै नियम उल्लङ्घन गर्ने जहाजमाथि कारबाही जारी राख्ने चेतावनी दिएको छ।

विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमध्यबाट ठूलो मात्रामा कच्चा तेल तथा अन्य ऊर्जा सामग्री ढुवानी हुने गर्छ। त्यसैले यहाँ हुने कुनै पनि सैन्य गतिविधिले विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारमा असर पार्न सक्छ।