भक्तपुर – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
भक्तपुरको दधीकोटमा सञ्चालनमा आएको एभरेष्ट मल्टी स्किल प्रालिको आईतबार उद्घाटन गर्दै उनले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए ।
मन्त्री यादवले भने, ‘अहिले दक्ष जनशक्तिको आवश्यकता रहेको छ, बजारको मागअनुसारको सीप र सीपअनुसारको रोजगार दिन तालिम र सीप प्राप्त जनशक्तिलाई रोजगारसँग जोडनुपर्छ, कतिले तालिम पाए भन्ने कुराले महत्त्व राख्दैन, कतिले रोजगारी पाए, कतिले आर्थिक उन्नति गरे त्यसले महत्त्व राख्दछ, त्यसका लागि सबै लाग्नुपर्छ ।’
बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबिचको ठूलो खाडल रहेको चर्चा गर्दै उनले युवालाई सीप सिक्न नहिच्किचाउन तथा विदेश जाने युवालाई सीपयुक्त दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने र स्वदेशमै रहनेहरूका लागि सम्मानजनक रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकतालाई यस प्रकारको सीप केन्द्रले टेवा पुग्ने बताए । उनले सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबिचको सहकार्य अपरिहार्य रहेको बताए ।
कार्यक्रममा एभरेष्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सीप नभएका श्रीमक विदेश जाँदा निकै दु:ख पाउने गरेको र पारिश्रमिक पनि कम पाउन गरेको बताउँदै सीप लिएर गएका जनशक्तिले विदेशमा सजिलो एवं पारिश्रमिक पनि राम्रो पाउने गरेको बताए ।
विगत २५ वर्षदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आएका उनले विदेश जाँदा होस् वा स्वदेशमै रोजगारी खोज्दा हातमा सीप र कला भएमा राम्रो तलब र अवसर पाइने बताए ।
अध्यक्ष न्यौपानेले भक्तपुरमा सञ्चालनमा आएको तालिम केन्द्रले देशमा रहेको अदक्ष र अर्धदक्ष जनशक्तिलाई पूर्ण दक्ष जनशक्ति बनाउने र सहज रूपमा विदेशमा रोजगारीका लागि जानसक्ने बताए ।
कार्यक्रममा सञ्चालक अनन्तराम खतिवडाले विदेशमा लामो समय व्यावसायिक रूपमा रहेर अनुभवी ४ जना व्यवसायीको सहुले तालिम केन्द्र सञ्चालनमा ल्याएको बताउँदै आवासीय यस तालिम केन्द्रमा सीटीईभीटीबाट ३० वटा तालिमको अनुमति लिएर १५० शय्याको आवासीय तालिम केन्द्र सञ्चालनमा ल्याएको बताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद राजीव खत्रीले सरकारले प्रत्येक नागरिकलाई सीप दिने योजना बनाएको बताउँदै त्यस्तो योजनालाई यसप्रकारको निजी तालिम प्रदायक संस्थाले सहयोग पुग्ने बताए ।



प्रतिक्रिया