कपनमा प्रधानाध्यापकलाई लात्ती मुक्का बर्साउने दुवैजना समातिए

कपनमा प्रधानाध्यापकलाई लात्ती मुक्का बर्साउने दुवैजना समातिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २२ गते बिहान करिब १०:३४ बजे विद्यालयको प्रांगणमा घटना भएको थियो।

दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौज र धाकधम्की दिएका थिए।

त्यहीक्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमण्डुबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।