आफ्नै विश्वास पात्रबारे ओली, ‘कमरेड भन्छ, गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’

आफ्नै विश्वास पात्रबारे ओली, ‘कमरेड भन्छ, गम्लङ्ग अँगालो हाल्छ, अनि पछाडिबाट ग्याम्म छुरी हान्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी र कमरेड भन्दै नजिकिनेहरूबाटै धोका हुने गरेको टिप्पणी गरेका छन्।

उनले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि नझुक्ने बताएका छन्।

पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आइतबार काठमाण्डुको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै साथी जस्तो लाग्ने व्यक्तिले पनि पछाडिबाट छुरा हान्ने गरेको बताए।

‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, तर ग्याम्म छुरी हान्छ। यो पनि देखियो। कता जोगिने, कता नजोगिने ?’, उनले गुनासोसहित भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नजिकको सम्बन्ध देखाएर अँगालो हाल्नेहरूबाट समेत धोका हुन सक्ने भन्दै आफूले यस्ता अनुभव भोगेको संकेत गरे।

आफूविरुद्ध अनेक प्रहार भए पनि विचलित नहुने बताउँदै ओलीले भीष्म पितामहको प्रसंगसमेत उल्लेख गरे। आफू अझै कमजोर नभएको र चुनौतीसँग नडराउने उनको भनाइ थियो।

ओलीले आफ्नो राजनीतिक यात्रा ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानबाट सुरु भएको स्मरण गरे।

राजनीतिक जीवनमा जेल बस्नुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले आफू निरन्तर संघर्षमा रहेको बताए।

देश र जनताको हितका लागि काम गरेको दाबी गर्दै ओलीले बाँचुञ्जेल अन्याय र विरोधका सामु नझुक्ने प्रतिबद्धता व्यक्त गरे।

‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन। बाँचुञ्जेल वैरीसामु झुकिँदैन। देशका लागि लडिन्छ। मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु,’ उनले भने।

ओलीले विश्वास गरेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितको ठूलो पंक्ति नेतृत्वबाट हटाउन लागेको सन्दर्भमा उनी विरक्तिएका हुन्।

आफूलाई नजिकको ठान्नेहरूबाटै धोका पाएको गुनासो गरेका उनले अझै नेतृत्वबाट दायाँबायाँ नहुने रटान लगाएका हुन् ।

उनले यसरी रोष प्रकट गरिरहँदा मञ्चमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलसहितका कोही पनि नेता थिएनन्।