काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघद्वारा आईतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले संगीतको सिर्जनात्मकताबारे धारणा राखे ।
उनले भने, ‘नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ, यसका लागि नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ र विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अवसर सिर्जना गरिनुपर्छ ।’
अध्यक्ष अग्रवालले नेपाली संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्वपूर्ण आधार भएको बताए । अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनले उल्लेख गरे ।
अध्यक्ष अग्रवालले नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन, तराईका सांस्कृतिक भाका र आधुनिक नेपाली गीतले नेपालको विशिष्ट सांस्कृतिक पहिचान निर्माण गरेको उल्लेख गरे । सीमित स्रोतसाधनका बाबजुद नेपाली संगीतलाई डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल अग्रज कलाकारहरूको योगदानको प्रशंसा गर्दै उनले नयाँ पुस्ताले त्यसलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले कलाकारहरू राष्ट्रका सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताए । नेपाली संगीतको विश्व बजारमा विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कलाकारको सम्मान ताली, पुरस्कार र प्रशंसामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले कलाकारको बौद्धिक सम्पत्तिको संरक्षण, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन, डिजिटल रोयल्टीमा पारदर्शिता र सिर्जनाको उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने बताए ।
डिजिटल प्रविधि, स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै संगीत क्षेत्रमा नयाँ अवसर र चुनौती थपिएको उल्लेख गर्दै अध्यक्ष अग्रवालले प्रविधिले कलाकारको सिर्जनात्मक क्षमता विस्तार गर्नुपर्ने, तर सिर्जनामाथिको अधिकार कमजोर पार्ने माध्यम बन्न नहुने धारणा व्यक्त गरे ।
उनले डिजिटल पाइरेसी, प्रतिलिपि अधिकार उल्लंघन र अनधिकृत रूपमा सामग्री प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न समयानुकूल कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताए । कलाकारले आफ्नो सिर्जनाबाट सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र सम्बन्धित क्षेत्रको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।
अग्रवालले नेपाली संगीत र पर्यटनबिचको सम्बन्धलाई समेत उजागर गर्दै मौलिक संगीतलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँग जोड्न सकिने बताए । यसबाट नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार विस्तार हुनुका साथै पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने उनको धारणा थियो ।
दशैंजस्ता चाडपर्व नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आत्मीयता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने अवसर भएको उल्लेख गर्दै उनले चाडपर्वमा गाउँघर र परिवारमा गुञ्जिने गीतसंगीतले मातृभूमिप्रतिको माया, सामाजिक सद्भाव र सांस्कृतिक स्मृतिलाई जीवन्त बनाउने बताए ।
समाजमा निराशा, असन्तुष्टि र विभाजनका स्वर सुनिन थालेका बेला कलाकारको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष अग्रवालले समाजमा आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने संगीतको आवश्यकता रहेको बताए । कलाकार समाजको ऐना मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने सशक्त माध्यमसमेत भएको उनको भनाइ थियो ।
उनले समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारसँगै कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । नेपाली संगीतको मौलिकता कायम राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
अन्त्यमा अध्यक्ष अग्रवालले सम्पूर्ण नेपाली कलाकार, संगीतकर्मी तथा उनीहरूका परिवारजनमा बडादशैं, तिहार लगायतका चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली संगीतको विकास, कलाकारको सम्मान र सिर्जनात्मक क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विशिष्ठ अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताए ।
राष्ट्रिय संगीतकर्मी संघद्वारा आईतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष मल्होत्राले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए । नेपाली मौलिक संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाइ थियो ।
मल्होत्राले देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने बताए । उनले सरकारले कला, संस्कृति, संगीत तथा सिर्जनात्मक क्षेत्रलाई उचित प्राथमिकता दिँदै कलाकार र स्रष्टाको योगदानको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै स्रष्टाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया