रोहित पौडेलको शतकीय योगदानमा क्यानडाविरूद्ध नेपाल २४ रनले विजयी

रोहित पौडेलको शतकीय योगदानमा क्यानडाविरूद्ध नेपाल २४ रनले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कप्तान रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ।

ओमानको अल अमेरातमा आइतबार भएको खेलमा नेपालले दिएको २३५ रनको लक्ष्य पछ्याएको क्यानडा जितबाट २४ रन टाढा रोकिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा क्यानडाले २१० रन बनाएको थियो।

नेपालको जितमा कप्तान पौडेलले शतकीय इनिङ खेले। उनले १२७ बलमा ८ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको तेस्रो शतक हो।

नेपालको सुरुवात भने राम्रो हुन सकेन। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ४ रनमा र इशान पाण्डे शून्यमा आउट भए। त्यसपछि पौडेलले अर्जुन कुमालसँग मिलेर इनिङ सम्हाले। कुमालले ५४ बलमा २३ रन बनाए।

त्यस्तै, बशिर अहमदले ५७ बलमा ३० रन जोडे। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गरे।

नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य योगदान दिन सकेनन्। दीपेन्द्रसिंह ऐरीले ६, करण केसीले ४, नन्दन यादवले २, सन्दीप लामिछानेले १ र ललित राजवंशीले २ रन बनाए।

क्यानडाका अखिलकुमारले ४ विकेट लिए भने सुखजिन्दर सिंहले ३ र जाहिद शिरजादले २ विकेट लिए।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा क्यानडालाई नेपाली बलरहरूले दबाबमा राखे। निर्धारित लक्ष्य पूरा गर्न नसकेपछि नेपालले २४ रनको जित निकाल्यो। यो जितसँगै नेपालले विश्वकप लिग–२ मा महत्वपूर्ण अंक जोडेको छ।