काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोदकुमार चौधरी विजयी भएका छन्।
त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
उपसभापतिमा चन्द्रकान्तलाई सर्वाधिक मत
उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। ई. मधु आचार्य २ हजार ३४२ मतसहित विजयी भएका छन्।
अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी विजयी
उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणा २ हजार ३३० मतसहित विजयी भएका छन्।
अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्।
त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन्।
मतपरिणामसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति, महामन्त्री र महिला महामन्त्री पदका निर्वाचित पदाधिकारीको टुंगो लागेको छ।



प्रतिक्रिया