काठमाण्डु – बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीया सोमबार नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ । शास्त्रमा ब्रह्मको अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।
ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भई उनले देवर्षि नारदको उपदेशअनुसार महादेव स्वामी पाऊँ भनी कठिन तपस्या गरेकी हुन् । कठोर तपस्या गरेकै कारण उनको नाम ‘तपस्याचारिणी’ अर्थात् ‘ब्रह्मचारिणी’ रहन गएको हो ।
तपस्याका क्रममा उनले एक हजार वर्ष फलफूल र सय वर्ष साग मात्र खाएर खुला आकाशमुनि घामपानी सहँदै जीवन निर्वाह गरेकी थिइन् । त्यसपछि तीन हजार वर्षसम्म जमिनमा झरेका सुकेका बेलपत्र खाएर तथा अन्त्यमा त्यो पनि त्यागेर निराहार तपस्या गरिन् । कठोर तपस्याले शरीर कमजोर भएपछि माता मेनकाले तपस्या त्याग्न आग्रह गरे पनि उनले साधना जारी राखिन् । उनको यस कठोर तपस्याबाट प्रभावित भई पितामह ब्रह्माले प्रसन्न हुँदै कसैले गर्न नसकेको तपस्या पूरा भएको र छिट्टै महादेवलाई पतिको रूपमा पाउने वरदान दिएका थिए ।
तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ । ज्योतिषी दुर्गा भण्डारीका अनुसार यो साधना विद्यार्थी, साधक र योगीहरूका लागि विशेष फलदायी मानिन्छ । ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख प्राप्त हुने शास्त्रीय विश्वास छ ।
ब्रह्मचारिणीलाई सबै प्रकारका पूजा सामग्री, फलफूल, पकवान्न तथा पुष्पहरू प्रिय छन्। आजका दिन देवीलाई सख्खर चढाएर पूजाआराधना तथा दान गरेमा हरेक प्रकारको बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक मान्यता छ ।
देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षता, अबिर, चन्दनका साथै दूध, दही, सख्खर, घिउ वा मह (पञ्चामृत)ले स्नान गराई प्रसाद चढाउने विधान छ । त्यसपछि आचमन गराई पान, सुपारी, भेटी चढाएर प्रदक्षिणा गरिन्छ। कलश स्थापना गरी नवग्रह, दशदिक्पाल, नगर देवता र ग्राम देवताको पूजार्पछि देवीको हातमा फूल लिएर स्तुति गरिन्छ ।



प्रतिक्रिया