काठमाण्डु – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदय शमशेर राणाले लोकतान्त्रिक प्रतिस्पर्धा नै कांग्रेसको सुन्दरता भएको बताएका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
उनले पार्टीलाई समयानुकूल बनाउँदै संगठन सुदृढीकरण, जनउत्तरदायी राजनीतिक अभ्यास र देशको समृद्धिका लागि आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
राणाले महामन्त्रीमा निर्वाचित हुनुलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टी रूपान्तरण र कांग्रेसको लोकतान्त्रिक भविष्यसँग जोडिएको साझा जिम्मेवारीका रूपमा प्रस्तुत गरेका छन्।
‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता,’ उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
महाधिवेशनबाट प्राप्त विश्वासलाई संगठन सुदृढीकरण, पार्टीलाई जनउत्तरदायी बनाउने अभियान र समुन्नत नेपाल निर्माणमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राणाले सबैलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरेका छन्।
महाधिवेशनको प्रतिस्पर्धापछि पार्टीभित्र आपसी सम्मान, सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिनुपर्ने उनको सन्देशको मुख्य आशय छ।



प्रतिक्रिया