काठमाण्डु- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टी पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
महामन्त्रीमा पराजित भएपछि उनले आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभारसमेत व्यक्त गरेका छन्।
महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउन निरन्तर क्रियाशील रहने बताएका छन्।
‘कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, राजनीतिक संस्कार र समाजको सकारात्मक परिवर्तनका लागि मेरो अभियान निरन्तर जारी रहन्छ,’ उनले भनेका छन्।
महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै महरले राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्रै भएको बताएका छन्।
विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार रहेका उनले बताएका छन्।
महरले समाज परिवर्तनका लागि राजनीति बदलिनुपर्ने, राजनीति बदल्न राजनीतिक संस्कार बदलिनुपर्ने र राजनीतिक संस्कार बदल्न नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा राखेका छन्।
‘चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ। विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका थप जिम्मेवार बनाउने उनको भनाइ छ।
महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत जितहारभन्दा माथि उठेर पार्टी रूपान्तरणको बृहत्तर अभियानसँग जोड्नुपर्ने धारणा राख्दै महरले नेतृत्वमा आउने परिवर्तन संगठन, कार्यशैली र राजनीतिक संस्कारमा समेत देखिनुपर्ने बताएका छन्।
‘सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनले सार्थक गन्तव्य प्राप्त नगरेसम्म मेरो अभियान अथक, अविचल र निरन्तर अघि बढिरहनेछ,’ उनले उल्लेख गरेका छन्।
महरले आफ्नो राजनीतिक यात्राको मूल मर्म हिजो, आज र भोलि पनि सकारात्मक परिवर्तन नै रहने स्पष्ट पार्दै कांग्रेसको उज्ज्वल भविष्य र असल राजनीतिक संस्कार निर्माणका लागि सहकार्यको ढोका खुला राखेको बताएका छन्।



प्रतिक्रिया